‘भाग्यमानी’ फुटबलर, जसले डेब्यूमै ७ नम्बर जर्सी पाए
काठमाडौं । मंगलबार सातादोवाटोस्थित एन्फा मैदानमा ताजिकिस्तानबिरुद्ध नेपाली टोली मैदान उत्रँदा २३ वर्षीय आर्मीम्यानले ७ नम्बर एक जर्सी लगाएर डेब्यू गर्ने मौका पाए । कुनैपनि उमेर समूह र एन्फाका आधिकारिक प्रतियोगिता नखेलिकनै सोझै राष्ट्रिय टोलीमा स्थान बनाउने सम्भवतः उनी पहिलो र ‘भाग्यमानी’ फुटबलर हुन् ।
उनी हुन् जर्ज प्रिन्स कार्की ।
उनको नाम जति युनिक छ, फुटबल करिअर पनि त्यति नै रोचक छ ।
काभ्रेका २३ वर्षीय जर्ज प्रिन्सले व्यवसायिक रुपमा फुटबल खेल्न थालेको ३ वर्ष मात्रै भयो ।
वि. सं. २०७० को शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुँदै थियो, बिएस्सी तेस्रो वर्षको परीक्षा कुरेर बसेका कार्कीले त्रिभुवन आर्मी क्लबमा ‘ट्राई’ मारे । उनको फि्रकिक र पावर सट राम्रो थियो । तर, राम्रो प्लेइङ सेट भएको आर्मी क्लबले निक्कै दुब्लो जर्ज प्रिन्सलाई फिटनेसका कारण टिममा राखिएन ।
तर उनको सौभाग्य ! आर्मीको फुटबल टिममा नपरेपनि उनले लगातार एक वर्ष ट्रेनिङ गर्ने मौका पाए ।
उनी काभ्रेबाटै मोटरसाइकलमा काठमाडौं धाउँथे । बिहान लगातार ४ घण्टा आर्मीको टिमसँग फुटबल अभ्यास गर्थे । बेलुकीपख त्रिपुरेश्वरमा ३ घण्टा जिम धाउन थाले ।
ट्रेनिङका क्रममा आर्मीकै अफिसर र प्रशिक्षकको सल्लाहअनुसार उनी फ्रेण्ड्स क्लबमा आवद्ध हुन पुगे । उनले २०७० सालको ए डिभिजन लिगमा फ्रेण्ड्सका लागि दुई खेल पनि खेले ।
जर्ज प्रिन्सले राष्ट्रिय टिमबाट डेब्यू गर्नुअघि एन्फाको आधिकारिक प्रतियोगिता खेलेको त्यही हो ।
आर्मीमा आबद्धता
फुटबलको लतले आर्मीसँग नजिकिएका कार्की २०७२ सालमा नेपाल आर्मीको सेकेण्ड लेफ्टिनेन्ट पदका लागि छानिए । ‘बिएस्सी सकाएर बसेको थिएँ, आर्मीमा भर्ती खुलेको रहेछ, फुटबल पनि खेल्न पाइने, अफिसर पनि भइने देखेपछि यता लागेँ’ उनले हाँस्दै सुनाए ।
नेपालमा ६ महिना र भारतमा १८ महिना गरी कार्कीले आर्मी क्याडेड कोर्स गएको पुसमा पूरा गरे ।
देहरादुनमा बस्दा पनि उनले फुटबल खेल्न पाए । ‘त्यहाँ एकेडेमी एकेमेडीबीच प्रतियोगिता हुन्थ्यो, १८ महिनाको बीचमा ५ महिनाजति त मैले फुटबलमात्र खेलेँ’, कार्कीले भने, ‘त्यसैले त नेपाल फर्कनेबित्तिकै आर्मीको टोलीबाट खेल्न सजिलो भयो ।’
पुसमा नेपाल फर्किएका कार्कीले आर्मीको टिमबाट चैतमा सर्लाहीमा भएको राजर्सी जनक कप फुटबल खेले, त्यसको एक महिनापछि उनले वीरगञ्जमा सम्पन्न बिशाल मेमोरियल गोल्डकप फुटबल खेले । प्रतियोगिताको उनी उच्च गोलकर्तासमेत भए ।
‘भरत (खवास) सर फिलिपिन्ससँगको खेलका लागि व्यस्त हुनुहुन्थ्यो, नवयुग दाइ (श्रेष्ठ) चोटग्रस्त हुनुहुन्थ्यो, त्यसैले मैले प्रतियोगितामा खेल्न पाएको थिएँ’ कार्कीले भने ।
डेब्यूमै ७ नम्बर जर्सी
आर्मीबाट खेले लगतै उनी राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीको नजरमा पर्न सफल भए ।
र, एसियन कपको छनोट अन्तरगत ताजिकिस्तानबिरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा पात्र परेनन्, डेब्यू गर्न पनि सफल भए । मंगलबार बिशाल राईको स्थानमा ६३ औं मिनेटमा मैदान छिर्दै जर्ज प्रिन्सले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरे ।
सौभाग्य नै मान्नुपर्छ, उनले डेब्यू खेलमै ७ नम्बर जर्सी पाए ।
फुटबलमा ७ नम्बर जर्सीलाई महत्वपूर्ण मानिन्छ । नेपाली टोलीमा यो नम्बर यस अर्थमा पनि सम्मानित छ कि नेपाली फुटबलका अहिलेसम्मका उत्कृष्ट प्लेमेकर उमेश प्रधानले सन् १९८४ देखि १९९७ सम्म यही जर्सी लगाएर खेलेका थिए ।
जर्ज प्रिन्स कार्कीका लागि नेपालको जर्सी लगाएर खेल्ने सपना साकार हुनु थियो भने पहिलो खेलमा नै ७ नम्बर जर्सी सुनमा सुगन्ध । तर, अब ७ नम्बर जर्सीलाई न्याय हुने गरी खेल्नु उनका लागि चुनौती हो । ‘टिमले विश्वास गरेर मलाई जर्सीसहित यो पोजिसन दियो, यसलाई मैले न्याय गर्न सक्नुपर्छ’ उनले भने ।
ताजिकिस्तानविरुद्ध करीव ३२ मिनेट मैदानमा विताएका जर्ज प्रिन्समा अनुभवको अभाव देखियो । एउटा फ्रि-किक प्रहार गरेका उनी बेलाबेला अल्मलिएको जस्तो देखिन्थे ।
‘अन्तर्राष्ट्रिय अभ्यासमा कुनै खेलाडीले उमेर समूहको प्रतियोगिता र घरेलु फुटबलको पर्याप्त अनुभवपछि मात्र राष्ट्रिय टोलीमा स्थान पाउँछ’ फुटबल बिश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘उनको हकमा केहि उल्टो भएको छ र उनले सुधार गर्नुपर्ने धेरै छन् ।’
उसो त नयाँ खेलाडी आगमनको मुख्य आधार मानिएको लिग नभएको करीव ४ वर्ष भयो ।सायद यसैको बाध्यताले हुनसक्छ एन्फा व्यवस्थापनले खेल अनुभव कम भएपनि प्रतिभा भएका कार्कीजस्ता खेलाडीलाई सिधै राष्ट्रिय टिममा समावेश गरेको ।
तर, नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउन उनले भरत खवास, नवयुग श्रेष्ठ लगायतका आफ्ना सिनियरसँग राम्रै प्रतिस्पर्धा गर्नुपर्नेछ । यो उनको अबको चुनौती हो ।
यसमा तपाइको मत