प्रदेशको केन्द्र र प्रमुख नियुक्तिबारे ओलीको आश्चर्यजनक अभिव्यक्ति

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले गरेको प्रदेशको केन्द्र र प्रमुख तोक्ने निर्णयप्रति आफूहरूको कुनै समर्थन नरहेको बताएका छन् ।

एकसाता लामो बैंककमा उपचारपछि बिहीबार काठमाडौं आइपुगेका ओलीले वर्तमान सरकारले बुधबार तोकेको प्रदेशको अस्थायी राजधानी र प्रमुखबारे आफूहरूको कुनै सहमति नभएको बताए । उनले सरकारले गरेको यो निर्णयलाई उल्टाउने घुमाउरो भाषामा संकेत गरेका छन् ।

ओलीले भने, ‘प्रदेश प्रमुख तोक्नको लागि हामीले यो सरकारलाई ताकेता गरेकै हो, हामीसँग सहमति भएको छैन । न प्रदेश प्रमुखको विषयमा सहमति भयो, न त अस्थायी मुकाम तोक्नेबारे ।’

सरकारले ढिलै भएपनि निर्णय गरेर नयाँ सरकार गठनको लागि सहज वातावरण बनाउन पहल गरेको तर्क गर्दै ओलीले अब यही विषयलाई आफूहरूले ईस्यु बनाएर आन्दोलन भने नगर्ने विश्वास दिलाए । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, ‘अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’

तपाईको सरकार आएपछि अहिले नियुक्त भएका प्रमुखहरूलाई हटाउनुहुन्छ त ? भनेर पत्रकारले सोधे प्रश्नमा जवाफमा उनले भने, ‘अहिले जे निर्णय भएको छ, यो निर्वाचित सरकारले नियुक्ति गरेको होइन, चुनावअघिको सरकारले गरेको भए मान्नुपर्छ भन्ने छैन ।’

ओलीले भने, ‘मैले त्यो प्रसँगमा सपथ खाँदैनौं भनेको थिएँ, अहिले आएर ढिलै भएपनि राम्रो भएको छ । देउवाले आलटाल गरे, सरकार गठनमा ढिलाई भयो । यो त गलत भयो । तर अब जे भयो त्यसमा हिजोको निर्णयले राम्रो गरेको छ ।’

ओलीले एमाले र माओवादीवीच छिट्टै पार्टी एकता हुने पनि विश्वास दिलाए । उनले थपे,‘पार्टी एकता हुन्छ, म बाहिर गएँ, केही ढिलाई भयो, अब शंका र उपशंका नगर्नुहोस् । नीति र नेतृत्वमा हामीवीच केही विवाद छैन् ।’

आफू स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदा यो बीचमा ओली राजतन्त्र फर्काउन लाग्यो भनेर केही मिडियाले लेखेकोप्रति टिप्पणी गर्दै उनले भने, ‘यस्तो कुरा नलेखेको भएपनि हुन्थ्यो, यी सबै कपोकल्पित र झुठा कुरा हुन् । राजसंस्था फर्काउने कुरा वाहियात हो ।’

Published : Thursday, 2018 January 18, 2:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया