सात बुँदासँगै ‘प्रचण्ड’ यसकारण बने खलनायक
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ओमप्रकाश पुनले ‘एमाले–माओवादी केन्द्र’को एकीकरणका लागि भएको सात बुँदे सहमतिलाई बैचारिक पतनको टिप्पणी गरेका छन् ।
‘यो कम्युनिस्ट वा वाम एकता होइन सामाजिक दलाल पुँजीवादीहरूबीचको एकता हो’, पुनले भनेका छन्, ‘यो एकता अस्तित्व रक्षा, सत्ता लिप्सा र बैचारिक पतनको परिणाम हो ।’
एमाले र माओवादीबीच पार्टी एकीकरणका लागि सात बुँदे सहमति भएको अर्को दिन ‘नेकपा’का नेता पुनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण सहमतिप्रति नकारात्मक टिप्पणी गरेका हुन् ।
‘यो एकताले माओवाद को परित्याग अर्थात माओवादी आन्दोलनलाई संसदवादमा रुपान्तरण, बैज्ञानिक समाजवादलाई दलाल पुँजिवादमा रुपान्तरण र जनयुद्धलाई अपाराधिकरण गर्ने छ’, उनले भनेका छन् ।
नेता पुनले सारमा कथित एक्काईसौं शताब्दीको जनवाद एमालेको दक्षिणपन्थी संसदीय कार्यदिशा ‘जबज’मा बिलय कटु आलोचना गरेका छन् ।
‘त्यसको ब्यबहारिक पुष्टि माओवादी केन्द्र–एमालेले फागुन सात गते मध्यराति गरेको कथित सात बुँदे प्रतिबद्धता पत्रले गरेको छ’, उनले भनेका छन्, ‘जनयुद्ध शुरु गर्दा तयार पारेको सात बुँदे प्रतिबद्धता पत्रले ‘प्रचण्ड’ लगायतलाई क्रान्तिका महानायकको रुपमा अगाडि बढाएको थियो भने यो कथित प्रतिबद्धता पत्रले उनीहरूलाई घोषित क्रान्ति बिरोधी खलनायकका बनाएको छ ।’
‘माओवादको परित्याग, ‘जबज’मा समर्पण र दलाल पुँजिवादमा पतनको घोषणाले अब हालसम्म ‘प्रचण्ड’ले ओडेर आएको स्यालको रातो छाला जनतामा छर्लङ्ग भएको छ’, नेकपाका नेता पुनले भनेका छन्, ‘अब पनि यसमा भ्रमित हुनु भनेको बैचारिक र राजनीतिक सम्पूर्ण रुपले मृत्यु हुनु हो ।’
एमाले र माओवादीबीचको पार्टी एकीकरणलाई नेकपाले सुरुका दिनदेखि आलोचना गर्दै आएको छ ।
यसमा तपाइको मत