मकवानपुरमा प्रहरीको विशेष सुरक्षा योजना
काठमाडौं । प्रदेश नं. ३ को राजधानी हेटौँडासहित जिल्लाभरिको शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुरक्षा योजना लागू गरेको छ ।
होली पर्वलाई ध्यानमा राखेर फागुन १७ गतेका दिन विशेष सुरक्षा व्यवस्था मिलाइएको मकवानपुरका प्रहरी प्रमुख एवम् एसपी विकास खनालले जानकारी दिए ।
‘फागुपूर्णिमा होली पर्वका अवसरमा हुन सक्ने अप्रिय घटनालाई दृष्टिगत गरी कुनै पनि प्रकारको अप्रिय घटना हुन गर्न नदिन र पर्वलाई शान्त, सभ्य र मर्यादित वातावरणमा सम्पन्न गराउनको लागि बिशेष सुरक्षा बनाएका छौँ’, उनले भने ।
मकवानपुर प्रहरीले ईच्छा बिपरित जवरजस्ती अबिर रङ दल्ने, फोहोर पानी छ्याप्ने, लोला हान्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने चेतावनी दिएको छ ।
लोकमार्ग तथा भित्री सहायक मार्गमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको एसपी खनालले बताए । लागू औषध गाँजा, भाँङ जस्ता पदार्थको सेवन तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने तयारी पनि प्रहरीको छ ।
मादक पदार्थ सेव गरी सवारी साधन चलाउने, बिना हेलमेट मोटरसाईकल चलाउने, बिना लाईसेन्स सवारी साधन चलाउने, मोटरसाईकलमा २ जना भन्दा बढी व्यक्ति चढाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने जारी विज्ञप्तिमा उल्लेख छ ।
‘गुन्डागर्दी गर्ने तथा सार्वजनिक स्थलमा बसी अमर्यादित किसिमबाट हो–हल्ला गर्ने, झै–झगडा गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने लगायत अन्य कानून बिपरितका काम क्रियाकलापलाई पूर्णतया नियन्त्रण गर्ने र भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने छौं’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विशेष सुरक्षा योजना बमोजिम मकवानपुरमा ३ सय २३ जना प्रहरी कर्मचारी परिचालन हुनेछन् । ११ ठाउँमा ट्राफिक सहितको चेकिङ, मोबाईल गस्ती ८ वटा, पैदल गस्तीको व्यवस्था, सादा पोशाकमा प्रहरी परिचालन, क्यूआर टोली परिचालन हुनेछ ।
यसमा तपाइको मत