आइजीपी बन्न प्रचण्डका आफन्तलाई दुरुपयोग
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा चर्चा छ– ‘सशस्त्रका आइजीपी शैलेन्द्र खनाल निर्विकल्प हुन् ।’
अन्यभन्दा सिनियर एआईजी भएका कारणले उनी आइजीपीका प्रमुख दाबेदार हुन् । तर, उनको एआइजी कार्यकालको कार्यसम्पादन र मूल्यांकन के छ भन्ने चाहीँ खुमलटारलाई त्यति थाहा छैन ।
अदालत र शक्ति केन्द्रलाई पनि सन्तुलनमा राखेका खनाल अहिले खुलेर बाहिर आएका छैनन् । सशस्त्रका विभिन्न प्रकरणमा नाम जोडिनसक्ने डरले उनले १ नम्बर एआइजीमा आफ्नो बढुवा गराउनासाथ लामो समय अमेरिकामा बिताए ।
काठमाडौं र अमेरिका गरेर केही वर्ष बिताएका खनालको आइजीपी सिंहबहादुर श्रेष्ठसँग राम्रो सम्बन्ध छैन । खनाल संगठनका विभिन्न तालिमका नाममा अमेरिका गएका छन् । उनकी श्रीमती र दुई सन्तान अमेरिकामा बस्छन् ।
शक्तिकेन्द्र निकटका व्यक्तिलाई साथमा लिएर सन्तुलनको प्रयत्न राख्ने खनाल नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार निकट मानिन्छन् । प्रचण्डसँग पनि खनालको पहुँचका लागि पारिवारिक सदस्यको भूमिका बलियो छ ।
खनाल नयाँ आइजीपी बन्न प्रधानमन्त्री केपी ओलीको सचिवालयमा रहेका व्यक्तिसँग उठबस गरिहेको स्रोतको भनाइ छ । खनाललाई आइजीपीमा बढुवा गर्दा एमाले, माओवादी र कांग्रेसको पनि विरोध नहुने अवस्था उनले बनाएका छन् । संगठनमा त उनले आफूलाई सिनियर कायम गराएकै छन् ।
तत्कालीन सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईको दाहिने बनेका खनाल अन्य सिनियरलाई पछि पार्दै एआइजीमा नियुक्त भएका थिए ।
डिआइजीबाट एआइजीमा बढुवा गर्ने क्रममा नै खनालविरूद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । रिट खारेजका लागि ठूलो चलखेल समेत भएको थियो ।
यसमा तपाइको मत