खुमबहादुरको स्वास्थ्यको कामना गर्दै दाङमा पूजाअर्चना, भावुक बने शुभेच्छुक

घोराही । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्रस्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा मन्दिरमा पूजाअर्चना गरिएको छ ।

नेता खड्काका समर्थक र शुभेच्छुकहरूले खड्काको स्वास्थ्य लाभको कामनासहित मन्दिरमा पूजा गरिएको हो । दाङ जिल्लाको समग्र विकासमा खड्काले पुर्‍याएको योगदानलाई दङ्गाली जनताले स्मरण गरेको कांग्रेसका स्थानीय नेता दीपकजंग पाण्डेले जानकारी दिए ।

‘खुमबहादुर खड्काकै कारण दाङ जिल्लाले आफ्नो परिचय पायो । विकास पायो’, पाण्डेले भने, ‘रोगसँग उहाँले संघर्ष गरिरहनु भएको छ । उहाँको स्वास्थ्य लाभको कामना गरेर स्थानीयले मन्दिरमा पूजा गरेका हुन् ।’

मन्दिरमा भेटिएका अर्का एक शुभेच्छुककका अनुसार भारतको नयाँदिल्लीमा उपचार गराइ रहेका कांग्रेस नेता खड्काको स्वास्थ्य अवस्था खराब बन्दै गएको जानकारी पाएपछि आफूहरूले स्वस्फूर्त रुपमा जीवनदान माग गरेर पूजा गरेको बताए ।

दाङको विजौरी र कोठरीसहितका विभिन्न स्थानमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार मन्दिरहरूमा पूजा गरिएको छ ।

नेपाली कांग्रेसका नेता खड्काले विगत तीन हप्तादेखि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मृर्गौला रोगको उपचार गराइ रहेका छन् । उनको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि सीसीयुमा राखेर गरिएको आफन्तले जनाएका छन् ।

नेता खड्काको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्न शुभेच्छुकहरूले नेपाल सरकारसँग आग्रह गरेको दाङ कांग्रेसले जनाएको छ ।

के भएको छ खड्कालाई ?

-खड्काको छातीमा गहिरो इन्फेक्सन देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु –

-दायाँ खुट्टा चल्न छाड्यो

-किड्नीमा रहेको पुरानो समस्या पनि बल्झियाे

-छातीमा देखिएको समस्या बढ्दै गएको र शरीर पनि सुन्निन सुरु

-नाकमा पाइप लगाएर खाना खुवाइएको छ

-विशेषज्ञ चिकित्सकको २४ घन्टे निगरानीमा राखेर उपचार

कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । गत ६ फागुनमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका खड्काको छातीमा गहिरो इन्फेक्सन देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उपचारमा संलग्न अस्पतालका नसारोग विशेषज्ञ डा. मुकुल बर्माले जानकारी दिए ।

‘खड्काको छातीमा गहिरो इन्फेक्सन देखिएको र दायाँ खुट्टा चल्न छाडेपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ,’ दिल्लीबाट डा. बर्माले भने, ‘किड्नीमा रहेको पुरानो समस्या पनि बल्झिएको छ, हामीले उहाँलाई विशेषज्ञ चिकित्सकको २४ घन्टे निगरानीमा राखेर उपचार गरिरहेका छौँ ।’

मिर्गाैला, छाती र नसाको समस्या देखिएका खड्काको नसारोग विशेषज्ञ डा. बर्मा, छातीरोग विशेषज्ञद्वय डा. राजेशकुमार चावला र डा. सुधा कन्सल तथा मिर्गाैलारोग विशेषज्ञ डा. जयन्तकुमार होताको टोलीले उपचार गरिरहेको नेपालस्थित एपोलो सूचना केन्द्रका इन्चार्ज अर्जुनबहादुर चन्दले जानकारी दिए ।

छातीमा देखिएको समस्या बढ्दै गएको र शरीर पनि सुन्निन सुरु गरेकाले निगरानी बढाएर खड्कालाई उपचार थालिएको डा. बर्माले बताए । उनलाई नाकमा पाइप लगाएर खाना खुवाइएको नेपालस्थित अस्पतालको सूचना केन्द्रले जानकारी दिएको छ ।

Published : Friday, 2018 March 23, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया