जनताको मन कांग्रेसले कब्जा गर्न सकेनः रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन कब्जा गर्न नसक्दा तीनवटै निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताएका छन् ।

पोखरामा सोमबार आयोजित कार्यक्रममा नेता पौडेलले आन्तरिक रुपमा पार्टीभित्र मात्र वर्चस्व जमाएको, तर, जनताको मनमा वर्चस्व जमाउन कांग्रेस नेतृत्वले नसकेको बताए । त्यसले गर्दा निर्वाचन परिणाम निराशाजनक आएको उनको भनाई थियो ।

आफ्नै पार्टीका केही नेताप्रति लक्षित गर्दै पौडेलले अरु (एमाले र माओवादी) मिलेकोले हामी (कांग्रेस) हार्‍यौं भन्न नहुने बताए । ‘अबपनि अरु दल मिलेर बलियो भएकोले हामी कमजोर बनेका हौ भनेर नभनौ’, उनले भने, ‘हामीले आम जनताको विश्वास जित्न नसकेको हारेका हौ भनेर स्वीकार्नुपर्छ ।’

‘कांग्रेसका नेताले पार्टी कब्जा गर्नुको साटो जनताको मन कब्जा गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने, ‘जनताको मन त कब्जा नै भएन ।’ कांग्रेसले पञ्चायत, आतंकवाद, माओवादसँग लडेकोले यति बलियो पार्टीको विपक्षमा ५१ प्रतिशतभन्दा बढी जनता हुनु आश्चर्यजनक भएको पौडेलले बताए ।

‘कांग्रेससँग कम्तिमा ७५ प्रतिशत जनता हुनुपर्ने हो । तर, अहिले हारेपछि अरु मिलेर आएकोले हामी हार्‍यौं भनेर पन्छिएका छौ’, उनले भने, ‘अरु मिलेर आएपनि हामी सबै पहिल्यैदेखि एकैठाउँ हुँदा त कम्तिमा ७५ प्रतिशत जनता हाम्रो पक्षमा हुनुपर्ने हो । तर, हामीले जनताको मन जित्न नसकेकै हो ।’

नेता पौडेलले दुईवटा कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक हुन थालेकाले दुईपार्टी मिलेर कम्युनिजम कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिए ।

‘एमाले र माओवादी मिलेर कम्युनिज्म कस्तो हुन्छ भनेर देखाउनुस, मैले हेर्न चाहेको छु’, पौडेलले भने, ‘कम्युनिष्ट लोकतन्त्रको भर्‍याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भर्‍याङ बिर्सन्छ । यस्तो चरित्र कम्युनिष्टले देखाउँछन् ।’

कम्युनिष्टले जहिलेपनि कर्मचारीतन्त्रलाई साथ लिएर विश्वका मजदुर एक होऔं भन्दै सत्तामा पुग्ने गरेको आरोप पौडेलले लगाए । ‘सधैं ट्रेड युनियनको आन्दोलको भरमा कम्यूनिष्ट सत्तामा पुग्ने गरेको छ’, उनले भने, ‘अनि सत्तामा पुगेपछि त्यही ट्रेड युनियनलाई बिर्सन्छ ।’

Published : Monday, 2018 April 16, 6:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया