दाङमा जन्मियो नयाँ बस समिति, दङ्गालीहरू मालामाल

घोराही । बस व्यवसायीहरूले दाङ जिल्लामा नमस्ते राप्ती यातायात दर्ता गरेर सञ्चालनमा ल्याएका छन् ।

राप्ती सार्वजनिक यातायात व्यवसायी समितिबाट अलग भएका व्यवसायीहरूले नयाँ बस समिति बनाएका हुन् । यो समितिले वैशाख ६ गतेदेखि आफ्नो औपचारिक सेवा सुरु गर्नेछ ।

नयाँ समितिले घोराहीमा शनिबार पत्रकार सम्मेलन गरेर आफूहरूको रुट र बस सञ्चालनका बारेमा जानकारी दिएको छ । समितिका अध्यक्षमा बामदेव खनालले यात्रुको सेवा र सुविधालाई ध्यानमा राखेर आफूहरूको व्यवसाय केन्द्रित रहने बताएका छन् ।

नयाँ समितिले दाङदेखि काठमाडौं, सल्यान, मुर्कुटी, बुटवल, कृष्णानगर, नेपालगञ्ज हुँदै भारतको नयाँदिल्लीसम्म दोहोरो सेवा प्रदान गर्नेछ । समितिसँग हाल ६० वटा बस रहेको जानकारी अध्यक्ष खनालले दिए । यसमध्ये १० वटा नयाँ बस आउने क्रममा छन् । समितिसँग डिलक्स १० र ६ वटा एसी बस पनि छन् ।

समितिमा आउन चाहने व्यवसायीहरूलाई वैशाख १० गतेसम्म सदस्यता खुला राखिएको खनालले बताए ।

यसैबीच नयाँ समितिको कार्यसमितिमा सुदन केसीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । उपाध्यक्षमा सोम पौडेल र ओमकार बोहरा रहेका छन् । महासचिवको जिम्मेवारी प्रवीणकुमार पुन मगरले पाएका छन् ।

कल्याणकारी सचिवमा मूर्तिप्रसाद गौतम, कोषाध्यक्षमा श्रीधर बुढाथोकी रहेका छन् । प्रशासनिक उपसचिवमा प्रल्हाद श्रेष्ठ, कल्याणकारी उपसचिवमा जितबहादुर बस्नेत, सहकोषाध्यक्षमा तिलक चौधरी तथा सदस्यहरूमा केशव गौतम, चित्रबहादुर डाँगी र टेकबहादुर बस्नेत रहेका छन् ।

Published : Monday, 2018 April 16, 10:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया