ट्यार–ट्यार गरेको भारतलाई नेपाली पक्षले दियो टक्कर

काठमाडौं । भारतीयले नेपालमा रहेको प्रतिबन्धित पाँच र एक हजारका नोट साट्न फेरि अस्वीकार गरिदिएको छ । त्यति मात्रै होइन भारतले नेपाली ग्यासका बुलेटलाई भारतबाट ढुवानीमा पनि अबरोध गर्ने संकेत गरेको छ ।

भारतीय नोट सटही र नेपाली ग्यास बुलेटका विषयमा भारतीय पक्षले नेपालको प्रस्तावमा सुन्न समेत तयार नभएको हो । शनिवार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी बैठकमा भारतीय पक्षले नेपालमा रहेको भारु नोट साट्ने बारेमा आनाकानी गरेको थियो ।

नेपाली ग्यास बुलेटमा ग्यास ढुवानी गर्न दिने सम्बन्धमा भारतले कुरै सुन्न नचाहेपछि समस्या जहाँको त्यही राखेर सामान्य तरिकाले वार्ताको औपचारिकता पूरा भएको स्रोतले जनाएको छ ।

भारतसँगको वार्तामा नेपालले कृषि सुधार शुल्क हटाउन अस्वीकार गरिदिएको छ । भारतीय प्रस्ताव नेपालले अस्वीकार गरेपछि भारत पनि खासै खुशी नभई घर फर्केको छ ।

भारतमा कृषि क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएको र नेपाली वस्तुमा अनुदान नरहेकोले सुधार शुल्क हटाउन नसकिने जवाफ नेपालले दिएपछि भारतले सो मुद्दामा थप निहु नखोजी सहमति गरेर फर्केको छ ।

भारतले नेपालबाट हुँदै आएको निकासीमा भारतीयलाई पनि सहभागी गराउन प्रस्ताव राखेको थियो । नेपालले सो प्रस्ताव ठाडै अस्वीकार गरिदिएको छ ।

नेपालका लागि भनेर युरोप र अमेरिकी देशहरूमा प्राप्त सुविधा दुरुपयोग रोक्न भारतले भारतीय व्यापारीलाई पनि दिन माग गरेको थियो । काठमाडौंमा रहेको भारतीय व्यापारीले समेत उक्त सुविधा पाउनको लागि भारतले प्रयास गरेको देखिएको छ ।

Published : Sunday, 2018 April 29, 6:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया