आँधीबेहरीले तराईमा नोक्सानी गरेपछि राजपाले उठायो संसदमा आवाज

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सिरहासहितका तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट जनधनको ठूलो नोक्सानी भएको भन्दै राहत र उद्धारका लागि सरकारसँग जोडदार माग गरेको छ ।

संसदको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आँधीबेहरीका कारण सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको वडा नं. १०मा एकजना वृद्धाको मृत्यु भएको सदनलाई जानकारी गराए ।

‘मिर्चैयामा ८० वर्षीया सगुनी महतोको आँधीबेहरीबाट मृत्यु भएको छ’, यादवले भने, ‘आँधीबेहरीबाट भएको नोक्सानीको क्षतिपूर्ति र पीडितहरूको उद्धारका लागि विशेष ध्यान दिइओस् ।’

बुधबार बिहानै तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट ठूलो नोक्सानी भएको छ । थुप्रै सर्वसाधारण घाइते भएको सांसद यादवले बताए । ती घाइतेहरूको उपचारमा ध्यान दिन पनि सरोकारवाला निकायसँग माग गरे । उनले आँधीबेहरीबाट पीडित बनेकाहरूलाई तत्काल उपचार, खानबस्ने र उद्धारको व्यवस्था छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।

‘आँधीबेहरीले ठूलो क्षति गरेको छ । मानवीय क्षति भएको छ । चौपायाको मृत्यु भएको छ । किसानले लगाएको आँपबाली नष्ट भएको छ’, सांसद यादवले भने, ‘गाउँका गाउँ उजाड भएका छन् । घरहरूका छत उडेका छन् । क्षतिविक्षत् भएको छ’, उनले भने, ‘समयमा राहत र उद्धारमा सरकारको ध्यान जाओस् ।’

भारतमा केही दिन अगाडि आँधीबेहरी आउन लागेको पूर्वसूचना दिइएको प्रसंग कोट्याउँदै राजपा नेपालका सांसद यादवले भने, ‘भारतमा पनि आँधीबेहरी आएको थियो । पूर्वसर्तकताका लागि त्यहाँको सरोकारवाला निकायले पहिला नै जानकारी दिएको थियो । तर, हाम्रो मौसम विभाग कहाँ छ ? नेपालीहरू भाग्यको भरोसा बाच्नु पर्ने अवस्था कहिलेसम्म रहनुपर्ने हो ?’

बाढीलगायतका दैविक प्रकोपबाट हुने यस्ता खालका क्षतिलाई न्यूनीकरण गर्नेबारे सरकारले पूर्वतयारीका साथ ध्यान दिनुपर्ने सांसद यादवले बताए । सांसद यादवले पूर्वजानकारी दिन नसक्ने मौसम विभाग र सरोकारवाला मन्त्रीले यसबारेमा सदनलाई जानकारी गराउन पनि माग गरे ।

मुलुकमा बलियो सरकार रहेको बताएका राजपा नेपालका सांसद यादवले भने, ‘यो सरकार बलियो छ । जनताले अनुभूति गर्नुपाउनु प¥यो । खाली भाषणबाजीले जनतालाई त्यसको अनुभूति हुँदैन ।’

राजपा नेपालका सांसद यादवले भूकम्प प्राधिकरण निर्माण भए जस्तै बाढीपीडितका बनाइएको प्राधिकरणलाई बजेट नदिएर सरकारले भेदभाव गरेको आरोप लगाए । ‘बाढीपीडित प्राधिकरण निर्माण भयो । त्यसमा बजेट छैन । राहत स्वरुप किन काम भएन ?’, उनले प्रश्न गर्दै भने, ‘बाढी मधेसमा मात्रै आएको हो ? राज्यले त्यो प्राधिकरणप्रति राखेको नजरिया यहि हो ? यदि यस्तै हो भने त्यो नजरीया दुभाग्र्यपूर्ण हो ।’

Published : Wednesday, 2018 May 9, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया