अभिनन्दनबारे कांग्रेसले हिसाब किताब खोज्ने, फस्ने भए धेरै

जनकपुरधाम । नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रमका बारेमा प्रदेश सरकारसँग स्पष्टीकरण माग्ने भएको छ ।

शुक्रबार जनकपुरमा गरिएको अभिनन्दनको विषयमा कांग्रेसले असन्तुष्टि जनाएको छ । मोदीलाई प्रदेश २ को सरकार र जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो ।

धनुषा कांग्रेसका सभापति सरोज यादवले आइतबार पत्रकार सम्मेलन गरेर अभिनन्दन कार्यक्रममा भएका त्रुटीको विषयमा प्रदेश संसदमा कुरा उठाउने जनाएका हुन् । यादवले प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनमा निकै त्रुटी भएको बताए ।

‘नागरिक अभिनन्दनका लागि भिआपी कार्ड वितरण गरेको थियो । बस्ने ठाउँ वा त्यसको व्यवस्था थिएन’, सभापति यादवले भनेका छन्, ‘कांग्रेसका १९ जना प्रदेश सांसद छन् । तर सातवटा कार्ड मात्र दिइएको थियो ।’

उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन मुख्यमन्त्री लालबाबु राउतले अध्यक्षता गरेको भन्दै सभापति यादवले आपत्ति जनाएका छन् । ‘उपमहानगरपालिकाले गरेको नागरिक अभनिन्दनको अध्यक्षता मेयर आफैले गर्नुपर्ने थियो’, उनले भने, ‘चाकडी बजाउन मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको छ । मुख्यमन्त्री पदको गरिमा राउतजीले बुझ्नु भएन ।’

कार्यक्रमलाई प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल आफ्नो मर्यादा विपरित गरेको कांग्रेसको आरोप छ । सभापति यादवले मन्त्री उद्घोषक हुनु हुँदैन भनि तर्क गरेका छन् ।

‘‘मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापनमा कुनै समस्या हुनेछैन, अभिनन्दनमा सहभागी हुने सबैको हात–हातमा पानी हुने घोषणा गरेका थिए’, उनले भने, ‘कार्यक्रमका दिन त्यहाँ पानी खान नपाएर सर्वसाधारण मुर्छा परेका थिए ।’

‘मूल समारोह समितिमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता तथा सांसदको नाम राखिएको थियो । कार्यक्रम कसरी भयो ? त्यसको तयारी कसरी भयो ? त्यसको बारेमा कसैलाई केही जानकारी गराएन ?’, प्रश्न गर्दै सभापति यादवले भने, ‘त्यसका बारेमा कुनै छलफल नै गरेन, यहाँसम्म कि खर्चको पनि पारदर्शिता छैन ।’

प्रधानमन्त्री जनकपुर भ्रमणमा रहेकै बेला भारतका लोकसभाका सांसद कीर्ति आजादले जनकपुर फिर्ता लैजान भनि दिएका अभिव्यक्तिलाई पनि कांग्रेसले विरोध गरेको छ ।

Published : Sunday, 2018 May 13, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया