‘केपी ओली रहँदा मेरो रौँसम्म हल्लाउन सक्दैनन्’

काठमाडौं । कम्युनिस्ट सरकारले गरेका तीनवटा कामले सरकारलाई जनताबीच लोकप्रिय बनाएको छ ।

यातायात व्यवसायीहरूको सिन्डिकेट तोडेको, तोकिएको मापदण्डअनुरूप समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारहरूलाई कारबाहीको प्रक्रिया शुरु गरेको र वैदेशिक रोजगारीका क्षेत्रमा हुँदै आएको ठगी नियन्त्रणका निम्ति ठोस कदम चालेकोजस्ता कारणले धेरैपछि मुलुकमा सरकार भएको महसुस गराएको हो ।

तर, राम्रो काम गर्ने क्रममा सरकारले दर्शाएको पक्षपातपूर्ण व्यवहारले भने अनेकौँ आशङ्का र सन्त्रास पैदा गरेको छ ।

ठेकेदारहरूमध्ये शारदा अधिकारी सबैभन्दा असफल र कामचोर मानिन्छन् । उनले ठेक्का लिएको कलंकी–नागडुढ्गा सडक वर्षौँदेखि अलपत्र अवस्थामा छ ।

पासाङल्हामु मार्ग (नुवाकोट जाने), सातदोबाटो–बज्रबाराही मार्ग र जोरपाटी मार्ग निर्माणको ठेक्का पनि यिनै ठेकेदार अधिकारीले लिएका छन् । अधिकारीले ठेक्का लिएको कुनै पनि कार्य सम्पन्न हुन सकेको छैन ।

ठेकेदारहरूमध्ये लापरवाही र गैरजिम्मेदारहरूको रूपमा अधिकारीलाई लिने गरिन्छ । तर, प्रचण्डका खास मान्छे भएका कारण ठेकेदार अधिकारी कालोसूचीमा राखिएका छैनन् । उनी कारबाहीमा पर्ने सम्भावना पनि देखिएको छैन ।

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट तोड्ने क्रममा पनि सरकारले आस्थाका आधारमा पक्षपात गरेको छ ।

स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी अधिक रकम असुल गर्ने गरेको अभियोग लागेका राम श्रेष्ठ नामक व्यक्ति कम्युनिस्ट नेताहरूको निकट नभएकोले उनी थुनामा परेका छन् ।

सत्तारुढ नेताहरूको संरक्षण प्राप्त गोविन्द थपलियालाई भने पक्राउ गरेर पनि रातारात छोडिएको छ । थपलियालाई अहिले प्रहरीले ‘फरार’ सूचीमा राखेको छ । उनी हरेक दिन लाजिम्पाटस्थित होटेल ऱ्याडिसनमा व्यायाम गर्न जाने गर्दछन् ।

होटेलको क्लबका सदस्य रहेका थपलियालाई त्यहाँ देख्नेहरू कसैले ‘तपार्इंलाई त प्रहरीले खोजिरहेको छ होइन र’ भनेर सोधे भने वरिपरि रहेका सबैले सुन्ने गरी जवाफ दिँदै थपलिया भन्ने गर्दछन्, ‘जबसम्म केपी ओलीको राज रहन्छ तबसम्म कसैले मलाई पक्रने त के मेरो रौँसम्म हल्लाउन सक्दैनन् ।’

हत्या आरोपमा अदालतबाट प्रमाणित भई थुनामा परेका बालकृष्ण ढुङ्गेललाई थुनामा बसेको ६ महिना नबित्दै माफी दिने सरकारले यसरी आस्थाका आधारमा पक्षपातपूर्ण व्यवहार गर्नुलाई जानकारहरूले ‘फासीवादको सङ्केत’ भनी टिप्पणी गरेका छन् ।

Published : Wednesday, 2018 June 13, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया