यो हो ज्यान लिने सिमेन्ट, कर्तुतहरू बाहिरियो

हेटौंडा । आफ्नै ढुङ्गा खानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु बाहिर आएका छन् ।

कहिले ५० किलो बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको त कहिले नजम्ने सिमेन्ट उत्पादन गरेको विषयमा विवादमा आइरहने शिवम् सिमन्टले सिमेन्ट बनाऊने किल्ङकर भारतबाट ल्याउने गरेको छ ।

भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवम्को भ्रमपूर्ण बजार नीतिका कारण नागरिकहरुले समेत दुःख पाइरहेका छन् ।

हेटौडामा उत्पादित सिमेन्ट र रेडिमिक्स कंक्रिट दुवै ग्राहकले पत्याएका बस्तु हुन् । विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको हालैको एक घटनाबाट प्रमाणित भएको छ ।

शिवमको रेडिमिक्स कंक्रिट (आरएमसी) पनि जनविश्वास बटुल्दै गरेको नयाँ सेवा हो । केहि वर्ष अघिवाट पोखरामा सेवा सुरु गरेका आरएमसी कम्पनीहरुले गुणस्तरीय निर्माणमा ग्राहकको मन जितेका छन् ।

तर, पछिल्ला केहि घटनाहरुले यि दुवै वस्तुप्रति शंका उब्जाएको छ । व्यापक प्रचार प्रसारबाट जवर्जस्त स्थापित शिवम् सिमेन्टप्रति आरएमसीका सञ्चालकले लगाएको किटानी दोषलाई नमान्ने कसरी ? सेभेन लेक आरएमसी एण्ड हाउजिङ कम्पनीका सञ्चालक विकास गुरुङले लगाएको आरोपलाई महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले पनि समर्थन गरेका छन् ।

उनीहरुले सिमेन्टको कमजोरीले काममा बाधा उत्पन्न भएको दावी गर्दै आएका छन् । ‘क्वालिटीको मामलामा नो कम्परमाइज’ यो नारा शिवम् सिमेन्टको हो । उसले करोडौ रुपैयाँ विज्ञापन र वजार प्रवद्र्दनमा खर्च गरेको छ । तर, उसकै उत्पादनमा कमजोरी भेटिएको छ । ३ घण्टा भित्र सेट भइसक्नु पर्ने रेडिमिक्स कंक्रिट १४ घण्टा सम्म नजमेपछि डोजर लगाएर नजमेको माल फाली नयाँ आरएमसी बनाएर पुनः ढलान गर्नु परेको घटनाले शिवमको शाख गिरेको छ ।

शिवम् सिमेन्टको यो भन्दा ठूलो कमजोरी के हुन सक्छ ?

घटना हो पोखरा–९ नयाँबजारको । नमुना टोल शान्ति दर्शनमार्गमा २०७५ जेष्ठ २७ गते ढलान गरियो । तर, विडम्वना १४ घण्टा सम्म पनि बाटोको ढलान जमेन । जेष्ठ ३० गते ढलान गर्ने कम्पनीलाई बोलाइयो । ढलानमा जस्तो मिक्स्चर हालेको त्यस्तै पाइयो ।

३ घण्टामा ढलान जमिसक्नु पर्नेमा १४ घण्टा सम्म पनि नजमेपछि ढलान गर्ने कम्पनीले आफूले विच्छाएको सबै कच्चा पदार्थ बाटोबाट उठाएर फिर्ता लग्यो ।

ढलानको जिम्मा लिएको थियो लेखनाथ सुन्दरीवजारको सभेन लेक आरएमसी एण्ड हाउजिङ प्रालिले । निर्माण व्यवसायी नारायण गुरुङ र विकास गुरुङले सञ्चालन गरेको उक्त आरएमसी एण्ड हाउजिङ कम्पनीले नजमेको सामग्री तत्काल उठाएर उक्त बाटोमा पुनः अर्को आरएमसी ल्याएर ढलान गरेको छ । असार १ गते गरिएको दोहोरो ढलान भने बल्ल सफल भयो ।

लोकल मिकस्चरले गरेको ढलानको गुणस्तर राम्रो नहुने भन्दै महंगो पैसा हालेर आरएमसी हाल्नेहरुले अव गम्भिर भएर सोच्नु पर्ने बनाइदिएको छ । यो घटनाले बढी पैसा हालेर लिने सेवाको गुणस्तर र विश्वसनियतामा प्रश्न उव्जाएको छ ।

कम्प्युटर प्रणालीवाट मेटेरियरल मिक्स गर्ने र राम्रोसँग घोलिने हुँदा संरचना निर्माण बलियो र टिकाउ हुने जनविश्वास रहि आएकोमा नयाँ वजार बाटो ढलान प्रकरणले आरएमसी मेटेरियलको गुणस्तरप्रति गंभिर भएर सोच्न बाध्य पारेको छ । प्रतिघन मिटर ११ हजार पाँच सयका दरमा किनिएको आरएमसी ढलान किन जमेन ? कस कसको के कमजोरी छ ? यस बारेमा युनाईटेड पोष्टले खोज्ने प्रयास गरेको छ ।

कमजोरी कसको ?

सेभेन लेक आरएमसी एण्ड हाउजिङ प्रालिका सञ्चालक विकास गुरुङ जेष्ठ ३० गते बाटो ढलान विग्रिएको ठाउँमा भेटिए । कसरी आरएमसी जमेन भन्ने प्रश्नमा गुरुङले भने–‘सिमेन्टको कारण जमेन ।’ उनले व्राण्ड तोकेरै भने शिवम्् सिमेन्टको कमजोरीका कारण ढलान जमेन । उनले थपे–‘हन्डेड पर्सेन्ट शिवम् सिमेन्टको डिफेक्ट हो ।’ आफ्नो कम्पनीले ७ वर्ष देखि शिवम्् सिमेन्ट प्रयोग गर्दै आएको हो यस्तो कहिल्यै भएको थिएन ।

कामदारहरुले रेसियो, केमिकल मिलाएनन् कि भन्ने अर्को प्रश्नमा गुरुङले भने–‘होइन हाम्रो केहि कमजोरी छैन । यदि रेसियो कम बढि भएको भए पनि रेडिमिक्स (सिमेन्ट) त केहि न केहि जमिहाल्थ्यो नि । तर, कति पनि जमेन यो लटको सिमेण्टकै डिफेक्ट छ ।’ हेटौडामा उत्पादति शिवम् सिमेन्टलाई यो बारेमा जानकारी गराई सकेको बताउँदै उनले त्यसको क्षतिपूर्ति शिवम्् सिमेन्ट कम्पनीबाटै असुल गरिने पनि बताए ।

उक्त बाटो ढलान योजना पोखरा लेखनाथ महानगरपालिकावाट स्वीकृत योजना हो । महानगरका प्राविधिक इन्जिनियर सुरेन्द्र पौडेलले योजनाका निरिक्षक तोकिएका थिए । इञ्जिनियर सुरेन्द्र पौडेललाई पनि कसको कमजोरीका कारण ढलान जमेन ? भनेर प्रश्न गर्दा उनले पनि सिमेन्टको फल्ट भएको बताए । उनले भने–‘सिमेन्ट र त्यसमा राखिने केमिकलको कारण ढलान नजमेको हो ।’ उनले केहि समय अघि सिमेन्टकै डिफेक्टका कारण घरको ढलान नजमेर खसेको अनुभव सुनाएका थिए ।

यसरी बाटोमा कमसल वस्तु हाल्नेले भोली घरमा नहाल्न सक्छ र ? बाटो ढलान प्रकरणमा सिमेन्ट उद्योगको गम्भिर त्रुटी रहेको विषयमा दुई मत छैन । जनताको सुरक्षामा सिकायत गर्ने जो सुकै भएपनि कानूनी कठघरामा उभ्याउनु पर्छ । सिमेन्ट उत्पादकको यो लापरवाहीलाई राज्यले कसरी छानविन गर्छ ? राज्यका नियमक निकायहरुलाई प्रभावमा पारी यस्तै कमजोरीवाट फाइदा उठाएर आफ्नो प्रभुत्व जमाउन सफल शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयलमाथि तुरुन्तै छानविन गरी कारबाही नगर्ने हो भने भविश्यमा शिवम्कै कारण डरलाग्दा घटना दोहोरिनेमा दुई मत छैन ।

बत्यसो त सिमेन्ट उद्योग रहेको गाविस आसपासका क्षेत्रमा शिवम् उद्योगको धुलोको कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको, सागपात समेत खान नहुने भएको, पशु चौपायासमेत बिरामी परेको भन्दै स्थानीयले कि त धुलो फाल्ने प्रणालीको व्यवस्थापन गर्न, कि उद्योग अन्यत्र सार्न चेतावनी समेत दिइसकेका छन् ।

तर, सिमेन्ट कम्पनीले भने स्थानीयस्तरका केही राजनीतिक दालका नेताहरुसँग आर्थिक सेटिङ मिलाएर उनीहरुको चेतावनीलाई वेवास्था गर्दै आएको छ । सिमेन्ट उद्योग रहेको गाविस आसपासका स्थानीय भने यतिबेला आन्दोलनको तयारी गरिहेका छन् । उनीहरुले सिमेन्ट अध्यक्षले आफूहरुको मागलाई वेवास्था गरेको भन्दै कारबाहीको लागि प्रशासनसँग माग समेत गरेका छन् ।

Published : Thursday, 2018 June 21, 10:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया