सरकारी दमनविरुद्ध ‘डिफेन्स’मा आयो कांग्रेस, अब आन्दोलनको ज्वारभाट

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा अन्धाधुन्द आक्रमण गरेको भन्दै गम्भीर रुपमा लिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर नेपाल तरुण दलको नेतृत्वमा माइतीघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक प्रहरीबाट आक्रमण भएको जनाएका छन् ।

प्रहरीको आक्रमणबाट तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको शर्माले जनाएका छन् ।

प्रहरी दमन लगतै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरूको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरूको हौसला बढाएको कांग्रेसले जनाएको छ ।

एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारविरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता रहेको कांग्रेसले जनाएको छ ।

‘कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा गोविन्द केसीले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ ।’

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरूमा कांग्रेसको आन्दोलन जारी रहेको प्रवक्ता शर्माले जनाएका छन् ।

सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

Published : Saturday, 2018 July 21, 5:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया