यी हुन् आफ्नै बयान फेरि रहने कम्युनिस्ट प्रधानमन्त्री
काठमाडौं । खड्गप्रसाद ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना सुनाएका थिए । झण्डै दुई तिहाईको प्रधानमन्त्री भएपछि झण्डै तीन वर्षपछि ओलीले आफ्नो बोलीमा अडान राख्न सकेनन् । उनले बोली फेरेका छन् ।
भारतको नाकाबन्दीका कारण नेपाली नागरिकले एक सिलिन्डर ग्यास र एक लिटर पेट्रोल पनि पाउन नसकेको बेला ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना सुनाउँदा खुब मजाक पनि उडाइयो ।
आफूले ३ वर्षअघि गरेको घोषणाबाट प्रधानमन्त्रीपछि हटेका छन् । ओलीले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार पुर्याउने र आयातित इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने घोषणा गरेका छन् ।
एसियाली विकास बैंकको सहयोगमा काठमाडौं ल्याइएका विद्युतीय बसको मंगलबार काठमाडौंमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’
कम्युनिस्ट प्रधानमन्त्री ओलीको भाषणले हल हाँसोमय भयो । हाँसो रोकिन नपाउँदै उनले भने, ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्याउने हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ , तर दुनियाँ बदलिरहेको छ ।’
ओलीले अब छरिएर रहेका बस्तीलाई सामूहिक बस्तीमा रुपान्तरण गर्ने र विद्युतीकरण मार्फत घरयासी कामकाजमा समेत विद्युतीय सामग्रीकै प्रयोग बढाउने दाबी पनि गरेका छन् ।
यसमा तपाइको मत