पोखरेलले दाङसँग गरेको बाचा भुले, देउवालाई गाली गर्न थाले
तुलसीपुर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।
राजधानी तोक्ने विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको पोखरेलले आरोप लगाए ।
तुलसीपुरमा आयोजित कार्यक्रममा पूर्वएमालेबाट निर्वाचित मुख्यमन्त्री पोखरेलले शेरबहादुर देउवाले गरेको गल्तीको दोष जनताले आफूलाई लगाएको बताए ।
‘राजधानी तोक्ने शेरबहादुर देउवा सरकारले, पुत्ला जल्ने शंकर पोखरेल र कृष्णबहादुर महराको ?’, मुख्यमन्त्री पोखरेलले भने, ‘हामी कस्तो राजनीतिक धरातलमा छौँ ?’
दाङलाई प्रादेशिक राजधानी नबनाएको भन्दै मुख्यमन्त्री पोखरेलको विरोध हुँदै आएको छ । निर्वाचनका बेला पोखरेल र महराले मतदाताहरुसँग दाङलाई राजधानी बनाउने भनेर भोट मागेका थिए ।
मुख्यमन्त्री पोखरेलले राजधानी तोक्ने काम देउवा नेतृत्वको सरकारले गरेकोले आफू यसमा जिम्मेवार नरहेको बताए ।
पोखरेलले बरु सडक विस्तार, चक्रपथ निर्माण र खाने पानीको सुविधा बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिकस्तरको अस्पताल बनाउन आफूले पहल गरेको दाबी गरेका छन् ।
सामान्य उपचारका लागि पनि दाङका जनता टाढा जान बाध्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।
यसमा तपाइको मत