चियापान कार्यक्रमबारे कांग्रेसको दोहोर्‍याएर आयो सूचना

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक १६ गते सबै जिल्लाहरुमा शुभकामना आदान प्रदान र चियापानको कार्यक्रम आयोजना गर्न दोहोर्‍याएर निर्देशन दिएको छ ।

विजया दशमी, दीपावली, छठ, नेपाल सम्वत् ११३९ लगायत पर्वहरुका अवसरमा कांग्रेसले कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लाहरुमा आयोजना गर्ने भनिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरेको थियो ।

कात्तिक १६ गते सबै जिल्लामा भव्यताका साथ शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्न निर्देशन दिइएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको असोज २७ गते राति भएको निधनका कारण तेह्रौं दिनसम्म शोकका कार्यक्रमको आयोजना गर्ने भएकाले बाँस्तोलाप्रति सम्मान प्रकट गर्दै शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा र उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लाहरुमा आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।

पूर्वनिर्धारित कार्यक्रमको मिति परिवर्तन भएका कारण उत्पन्न भएको असुविधाका लागि नेपाली कांग्रेस क्षमायाचना गरेको छ । यसअघि निमन्त्रणा पठाइएका सबै महानुभावहरुलाई निमन्त्रणा पत्र पुनः पठाइनेछ ।

कुनै कारणवस निमन्त्रणा पत्र समयमा प्राप्त हुन नसकेमा यसै प्रेस विज्ञप्तिमार्फत् सबै चियापान कार्यक्रममा सहभागी भइदिन कांग्रेस सबैमा अनुरोध गरेको छ ।

सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको निमन्त्रणा पत्र समेत पठाइसकिएको कांग्रेसले जनाएको छ ।

Published : Tuesday, 2018 October 23, 5:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया