अष्ट्रेलियाकी राजदूत शेर्पाको पद फुत्किने पक्का, मन्त्रीले गरे खुलासा
काठमाडौं । मानव तस्करी गरेको अभियोगमा छानविनमा परेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई कम्युनिस्ट सरकारले राजीनामा गर्न दवाव दिएको छ ।
सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा गर्न सिफारिस गरेको जानकारी दिए ।
बाँस्कोटाले लक्की शेर्पाको विषयमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदन प्राप्त भैसकेको बताए । उनले प्रतिवेदनको निचोड निष्कर्षमा पुगेको बताएका छन् ।
शेर्पा कुटनीतिक व्यक्ति मात्र नभएर राजनीतिक सम्बन्धता भएको व्यक्ति भएकाले राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको मन्त्री बास्कोटाले बताए ।
‘प्रधानमन्त्री प्लस पार्टी अध्यक्ष र पार्टी अध्यक्षले समेत यसलाई गम्भीरतापूर्वक लिनु भएको छ’, उनले भने, ‘त्यस विषयमा कुनै निकास दिनका निम्ति उहाँलाई भनिएको र उहाँले त्यो अब एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला भन्ने हामीले विश्वास गरेका छौं ।’
राजदूत शेर्पाले प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबार बालुवाटारमा भेटेकी थिइन् । भेटका क्रममा शेर्पालाई राजीनामा गर्न सुझाव दिइएको थियो ।
स्रोतका अनुसार उनले तत्कालै राजीनामा पत्र लेखेर बालुवाटारमा छाडेकी थिइन् ।
सञ्चारमन्त्री बाँस्कोटाको पत्रकार सम्मेलनमार्फत् शेर्पालाई राजीनामाका लागि सुझाव दिइएको बताए ।
यसमा तपाइको मत