रनाहमा परे अध्यक्ष नैनसिंह महर, आधा रित्तियो नेविसंघ
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले महाधिवेशनको मिति पटक–पटक घोषणा गर्ने नहुने निश्चित भएपछि पदाधिकारीले श्रीङ्खलाबद्धरुपमा राजीनामा गरेका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय नौजना पदाधिकारीले राजीनामा लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पनि पदबाट राजीनामा दिएका छन् ।
कांग्रेसले महाधिवेशनका लागि नेविसंघको म्याद थप गरी अधिशनका लागि ताकेता गरेको थियो । नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने पौडेल समूहले आरोप लगाएको छ । पौडेल समूहले अध्यक्ष महरको कार्यशैली र चर्तिकलाको विरोध गर्दै आइतबार समूहिक राजीनामा दिएका हुन् ।
राजीनमा पछि पौडेल समूह विद्यार्थी नेता हरिहर शर्माले अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरेर आफ्नो पद मात्र लम्बाउने खेलमा लागेको आरोप लगाए ।
‘क्याम्पसहरूमा संगठन निर्माण गर्न नसकेको, कुनै पनि आन्दोलन गर्न नसकेकाले महरको नेतृत्व नालायक सिद्ध भएको छ’, उनले भनेका छन्, ‘महंगी, भ्रष्टाचार र जघन्य अपराधका मुद्दाहरूमा मौन रहेको र डा. गोविन्द केसीले उठाएको मागहरूका विरुद्धमा रहेको, शैक्षिक माफियाहरूको संरक्षक बनेको, स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने र जति पटक म्याद थप गरे पनि महाधिवेशन गराउन सक्ने कुनै आधार छैन ।’
शर्माले अध्यक्ष महरको असक्षमताको आफूहरू साक्षी हुन नसक्ने पनि बताएका छन् ।
राजीनामा दिनेमा सहमहामन्त्री ललिता सुनार र हरिहर शर्मासहित ४५ जना सदस्य रहेका छन् ।
राजीनामा गर्ने सदस्यहरूमा भोला नेपाल, कल्पना खड्का, सुनिता अधिकारी, पम्फा गान्धारी, सारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारी लगायत ४५ जना रहेको भोला नेपालले जनाएका छन् ।
अध्यक्ष महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएकोले वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकोले राजीनामा दिनुपरेको बताइएको छ ।
यसअघि सभापति देउवा समूहका महामन्त्रीसहित उपाध्यक्ष र सहमहामन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।
अब विधान अनुसार तदर्थ समिति गठन गरी महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने सबै राजीनामा दिने सदस्यहरूको भनाई छ ।
यसमा तपाइको मत