कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आन्दोलन गर्छौंः प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका शीर्ष नेताहरूको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोज्ने कम्युनिस्ट सरकारको प्रयासविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तनहुँमा मंगलबार आयोजित कार्यक्रममा युवा नेता पौडेलले केपी ओली सरकारको गलत निर्णयविरुद्ध कांग्रेसले आन्दोलन गर्ने बताए ।
कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेमा अस्पताल स्थापना गरेको थियो ।
ती दुई स्वास्थ्य संस्था केन्द्र सरकार मातहतमा नराखी सरकारले विघटनको प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा छुट्याई काम समेत भैरहेको पौडेलले बताए ।
स्थानीय सेती गंगा सामुदायिक अस्पताललाई समेत उक्त अस्पतालमा गाभेर अहिले दैनिक दुई सयले सेवा लिइरहेको अवस्थामा हठात अस्पताल विघटन गर्ने तयारी गरेर कम्युनिस्ट सरकारले अधिनायकवादी सोँच देखाएको उनले आरोप लगाए ।
पौडेलका अनुसार उक्त अस्पतालका लागि बजेट, कर्मचारीको दरबन्दी सहित सरकारी मापदण्दको फार्मेसी समेत सञ्चालनमा आइसकेको छ ।
यसमा तपाइको मत