कांग्रेसको निर्णयले नेविसंघमा खुसीयाली
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद फेरि थप गरेको छ ।
माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो । कांग्रेसका प्रवक्ता शर्माले बुधबाबर सानेपामा पत्रकार सम्मेलन गरेर यहि माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने बताएका हुन् ।
‘विधान अनुसार थपिएको समय सकिँदै गरेको र यसबीचमा नेविसंघले महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वलाई निर्वाह गर्न नसकेको सन्दर्भ यहाँहरु जान्नुहुन्छ’, प्रवक्ता शर्माले भने, ‘यसका कमजोरीको खोजी गरिनेछ र माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको जानकारी गराउन चाहन्छु ।’
यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले अधिवेशन गर्न नसकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसले नेविसंघको म्याद थप गरेको छ ।
यसमा तपाइको मत