कम्युनिस्ट सरकारलाई टेरिनन् राजदूत शेर्पाले, पुगिन् अस्ट्रेलिया
काठमाडौं । कम्युनिस्ट सरकारको आदेश नटेरेर अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा नदिएर पुनः अस्ट्रेलिया फर्किएकी छिन् ।
मानव तस्करीमा संलग्न रहेको अभियोगपछि विवादमा परेकी शेर्पा केही दुई दिन अगाडि अस्ट्रेलिया फिर्ता भएकी हुन् । राजदूत शेर्पालाई लागेको आरोपहरुका बारेमा छलफल गर्न परराष्ट्र मन्त्रालयले छानविन समिति समेत बनाएको थियो । समितिको प्रतिवेदनलाई सार्वजनिक गरिएको छैन ।
तर, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजदूत शेर्पाले निकास दिने भन्दै राजीनामा संकेत गरेका थिए ।
आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर अस्ट्रेलिया ल्याएको आरोप लागेपछि अनुसन्धानका लागि नेपाल बोलाइएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छिन् ।
शेर्पाले आफ्नो कार्यभार सम्हाल्न दूतावास पुगेको स्रोतले जनाएको छ । राजदूत शेर्पाको अनुपस्थितिमा कार्यभार सम्हालेकी उपनियोग प्रमुख दु्रपदा सापकोटाले नै अहिले पनि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेकी छन् ।
राजदूत शेर्पाले आफूलाई सन्चो नभएको र केही दिन आराम गर्ने बताएपछि कूटनीतिक मर्यादा अनुरूप अस्ट्रेलियास्थित परराष्ट्र मन्त्रालय (डिफ्याट) लाई उनी आएको औपचारिक जानकारी दिइएको छैन ।
दूतावासका पूर्व कर्मचारी बाङछु शेर्पाले उनलाई आफूसँग पैसा लिएर अस्ट्रेलिया ल्याएको लगायतका आरोपहरू लगाएपछि उनलाई परराष्ट्र मन्त्रालयले अनुसन्धानका लागि करिब १ महिनाअघि फिर्ता बोलाइएको थियो ।
राजदूत शेर्पामाथि भइरहेको छानबिनका बारेमा विभिन्न सञ्चारमाध्यमहरूमा यसपहिले फरक फरक समाचारहरू आएपनि उनलाई राजदूतकै रूपमा सरकारले अस्ट्रेलिया फर्काएको हो वा होइन भन्ने बारेमा खुल्न सकेको छैन ।
राजदूत शेर्पाले आफूमाथि लागेको आरोपको पटक पटक खण्डन गर्दै आएकी छिन् । उनले वाङछु शेर्पाले लगाएको सबै आरोप निराधार र झुटो रहेको दाबी गर्दै आएकी छन् ।
सरकारबाट राजदूतप्रति भएको छानबिनको औपचारिक निर्णय सार्वजनिक नभएको र मन्त्रीहरूबाट फरक फरक धारणाहरू आइरहेको सन्दर्भमा राजदूतको फिर्तीलाई यहाँका नेपालीहरूले चासोका साथ हेरेका छन् ।
यसमा तपाइको मत