कांग्रेसका नेता रेग्मीको निधन, देउवा–पौडेलले ओढाए चारतारे झण्डा

काठमाडौं । नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।

कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई अस्पताल उपचारपछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

रेग्मीको पशुपति आर्यघाटमा शुक्रबार बिहानै अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा.शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

को हुन् रेग्मी ? रामचन्द्रले किन सम्झिए मनैदेखि ?

विक्रम संवत २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका रेग्मीले नेपाल विद्यार्थी संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व.रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटक–पटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व.रेग्मीका दुई श्रीमती छन् ।

नेपाली कांग्रेसका पुराना, त्यागी र ईमान्दार नेता तथा नेपाली कांग्रेस कास्कीको पूर्व सचिव रेग्मीको निधनको खबरले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई अत्यान्तै मर्माहत तुल्यएको बताएका छन् ।

‘२०२३ सालमा गण्डकी छात्रा समितिको गठन गर्दा केशवजी र हामीले एकैसाथ काम गरेका थियौँ । त्यसपछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि सम्झना छ’, वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘उहाँ गण्डकी छात्र समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल विद्यार्थी संघको स्थापना गर्दा पनि केशवजी हाम्रो साथमा हुनुहुन्थ्यो ।’

‘मैले विद्यार्थीकालमा केशवजीसंग धेरै समय बिताएको छु । विद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशवजीसंगै धेरै समय विताएको छु’, उनले भनेका छन्, ‘नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशवजी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसको राजनीतिमा लागेर आफ्नो सम्पूर्ण सम्पति गुमाएका स्व.रेग्मी लामो समयदेखि श्वासप्रस्वास सम्बन्धी रोगबाट अस्वस्थ्य थिए ।

‘जीवनभर आफू रोग र पीडाले छट्पटिँदा पनि प्रजातन्त्र र नेपाली कांग्रेसको मात्र चिन्ता लिइरहने केशव रेग्मीजीको निधनबाट नेपाली कांग्रेसले मात्र नभएर मुलुकले एउटा निष्ठा र आस्थाको धरोहर गुमाएको छ । केशवजीको योगदानको चर्चा शब्दमा मात्र गर्न सकिदैन’, कांग्रेसका वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘यो दुखद् घडीमा म मित्र केशवजीको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’

Published : Friday, 2019 January 18, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया