डा.गोविन्द केसीका माग पूरा गर्न यी दुई डाक्टरको कम्युनिस्ट सरकारलाई दवाव
काठमाडौं । नेपाली कांग्रेस निकटका अर्थशास्त्री एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा.गोविन्द पोखरेल र डा.स्वर्णिम वाग्लेले यथाशीघ्र उच्चस्तरीय टोली गठन गरी डा.गोविन्द केसीसंग औपचारिक वार्ता शुरु गर्न कम्युनिस्ट सरकारसंग अग्रह गरेका छन् ।
डा.पोखरेल र वाग्लेले आइतबार विज्ञप्ति जारी गरेर विगतका वार्तामा भएका सहमतिलाई पूरा गरेर डा.केसीको जीवन रक्षाका लागि अपील गरेका हुन् ।
‘निष्ठाका प्रतिमूर्ति डा. गोविन्द केसीको लडाइँ अनुचित निजी स्वार्थको विरुद्ध छ । उहाँको संघर्ष आम नेपाली जनताको पक्षमा छ’, उनीहरूले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधार, मेडिकल कलेजमा सिट निर्धारण र चर्को शुल्कमा सीमा, निःशुल्क उच्च अध्ययन, विदेश पढ्नुअघि परीक्षा, चिकित्सा शिक्षा नीति र ऐनको प्रारूप आदि तयार गर्न उहाँको मुख्य योगदान रहेको छ ।’
उनीहरूले भनेका छन्, ‘सत्याग्रहको आडमा समतामूलक समाजमा अभिन्न अंग मानिने स्वास्थ्य क्षेत्र सुधारोन्मुख भएको उदाहरण बिरल र विशिष्ट छ ।’
चिकित्सा क्षेत्रको आमूल सुधारका लागि संघर्षरत डा.गोविन्द केसीले १६औं अनशनको दशौँ दिनमा हुँदा पनि सरकारले समाधान तर्फ ध्यन नदिएको भन्दै अपात्ति जनएका छन् ।
‘वि.स. २०७१ देखि २०७४ सम्म नेपाल सरकारका विभिन्न जिम्मेवार पदमा रहंदा धेरै अनशनहरु वार्ताबाटै टुङ्ग्याउन वार्ताकार वा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गरेको स्मरण गर्दै सरकारको तर्फबाट पर्याप्त चासो नदेखाइएको अवस्थाप्रति हाम्रो ध्यान गएको छ’, उनीहरूले भनेका छन्, ‘राज्य र समाज दुबैका लागि डा गोविन्द केसीको जीवन रक्षा आजको नैतिक अपरिहार्यता हो ।’
‘संविधानले लिपिवद्ध गरेको समाजवाद उन्मुख अर्थतन्त्रमार्फत समुन्नति हासिल गर्न सरकारले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा र वातावरण संरक्षणमा अग्रणी भुमिका खेल्नु पर्दछ’, पूर्वउपाध्यक्षद्वयले भनेका छन्, ‘प्रत्येक नागरिकले यि क्षेत्रमा सहज पहुँच र गुणस्तरीय सेवा पाउनुपर्ने व्यवस्थाको प्रत्याभुति गर्ने दायित्व सरकारको हो । सहभागितात्मक लोकतन्त्रमा सरकारले नागरिकका आन्दोलन र विरोधलाई वार्ता मार्फतनै हल गर्नुपर्छ भन्ने हाम्रो मत छ । विगतमा जटिल प्रकृतिका मांगहरुपनि वार्ताकै माध्यमबाट सम्वोधन गरिएको र अग्रगामी सुधारको अजेण्डा तय हुन सकेको नजीर हाम्रा सामु छ ।’
कम्युनिस्ट सरकारले डा.गोविन्द केसीका मागलाई बेवास्ता गरिरहेका बेला राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा.पोखरेल र डा.वाग्लेले अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
यसमा तपाइको मत