कांग्रेस र कम्युनिस्टका सांसदहरूबीच धक्काधक्की, संसदभित्रै झण्डै…
काठमाडौं । चिकित्सा शिक्षा विधेयक छलफलका लागि संसदमा पेश गर्न अनुमतिका लागि समय माग्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूबीच धक्काधक्की भएको छ ।
सभामुख महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोध हुँदा हुँदै शिक्षामन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसदहरूले शिक्षामन्त्रीलाई रोस्टम (सभामुखको छेउँको माइक)मा जानबाट रोकेका थिए ।
शिक्षामन्त्री पोखरेललाई सुरक्षा दिँदै नेकपाका मुख्य सचेतक देव गुरुङसहितका कम्युनिस्ट सांसदहरूले कांग्रेसका सांसदहरूलाई धक्का दिएका थिए ।
कम्युनिस्ट सांसदहरू पनि आ–आफ्नो सिटबाट उठेर कांग्रेसका सांसदहरू भएतिरै गएका थिए । माओवादी पृष्ठभूमि भएका धेरै सांसदहरू शिक्षामन्त्रीसँग गएका थिए ।
कांग्रेसका सांसदहरूले पनि आफ्नो बुताले भ्याएसम्म शिक्षामन्त्री पोखरेललाई रोस्टममा जानबाट रोकेका छन् । कम्युनिस्ट र कांग्रेसका सांसदहरूबीच धक्काधक्की भएपछि स्थिति उत्तेजित हुन थालेपछि सभामुख महराले पुनः संसदको बैठक १५ मिनटका लागि स्थगित गरेका छन् ।
अघिल्लो पटक बसेको संसदको बैठकमा कांग्रेसले अबरोध गरेपछि १५ मिटनका लागि बैठक स्थगित भएको थियो । सभामुख महराले पुनः दोस्रो पटक बैठक राखेर शिक्षामन्त्री पोखरेललाई समय दिएपछि कांग्रेसले रोस्टममा जाने बाटो रोकेको हो ।
चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा रहेका अस्पतालहरू खारेज गर्ने प्रक्रियामा लगेपछि संसद अबरोध हुँदै आएको छ ।
कांग्रेसले अनसनरत डा.गोविन्द केसीका मागका विषयमा पनि सदनमा कुरा उठाउँदै आएको छ ।
कांग्रेसको विरोध भएको जान्दाजान्दै पनि कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दललाई पेलेरै अगाडि बढ्ने रणनीति बनाएको छ । सरकारको त्यो रणनीतिलाई सभामुख महराले पनि साथ दिएका छन् ।
यसमा तपाइको मत