कांग्रेस समक्ष झुक्न बाध्य भए कम्युनिस्ट सरकार र सभामुख
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई कम्युनिस्ट सरकारले खारेज प्रक्रियामा लगेपछि आक्रोशित बनेको नेपाली कांग्रेसले अबरोध गरेपछि संसदको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार दुई पटकसम्म चलेको संसद बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालहरू खारेज गर्न नहुने माग गर्दै सदनमा आवरोध गरेको थियो । सदन अवरोध गर्न खोज्दा कांग्रेस र सत्तारुढ दल नेकपाका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।
कांग्रेसको अवरोध हुँदा पनि सभामुख कृष्णबहादुर महराले पेलेरै संसदको बैठक अगाडि बढाउन खोजेका थिए । दोस्रो बैठकमा महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि तनावको स्थिति उत्पन्न भएको थियो । त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले महरामाथि औँला उठाउँदै प्रमुख प्रतिपक्षलाई पेलेरै लैजान खोजेको भनेर आलोचना गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुख महराले दुई पटकसम्म १५–१५ मिनटका लागि संसद बैठक रोकेका थिए । तेस्रो पटक पनि नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै सभामुख महराकै कार्यकक्षमा पुगेर घेराउ गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।
सभामुख महराको निर्देशनमा संसद सचिवालयले सूचना टाँसेर संसद बैठक शुक्रबारसम्म स्थगित गरेका हुन् ।
कम्युनिस्ट सरकारले तनहुँमा खुलेको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास अस्पताल र बाँकेमा खुलेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई खारेज प्रक्रियामा लगेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीले राजनीतिक पूर्वाग्रह राखेर निर्णय गरेको आरोप लगाउँदै आएको छ ।
नेपाली कांग्रेसले ती दुई अस्पताललाई केन्द्र सरकार मातहत राखेर सञ्चालनमा ल्याउन माग गर्दै आएको छ । कांग्रेसको मागलाई कम्युनिस्ट सरकारले अटेर गरी चिकित्सा शिक्षा विधेयकलाई संसदमा अगाडि बढाउन खोजेपछि मुठभेडको अस्था सिर्जना भएको छ । कांग्रेसले डा.गोविन्द केसीका मागको सुनुवाई गर्नुपर्ने अडान पनि राख्दै आएको छ ।
यसमा तपाइको मत