विश्वप्रकाशले दाङबाट कार्यकर्ताहरूको हौसला बढाए

तुलसीपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको बताएका छन् ।

राजधानीका विषयमा प्रदेश ५ का जनता र जनप्रतिनिधिहरूले उपयुक्त निर्णय लिनुपर्ने उनले बताए ।

दाङको निर्वाचन क्षेत्र नं. ३ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले बुटवल र दाङका जनता कांग्रेसका लागि बराबरी हैसियत राख्ने बताए ।

‘कांग्रेसले प्रदेश ५ को राजधानी कहाँ बनाउने भनेर कुनै पनि निर्णय गरेको छैन’, उनले भने, ‘केही दिन अगाडि बुटवलमा राजधानीलाई लिएर भएको कार्यक्रममा मलाई पनि साथीहरूले बोलाउनु भएको थियो । म गएन ।’

रुपन्देही कांग्रेसले बुटवलमा राजधानी बनाउनुपर्ने भन्दै दवाव दिन आयोजना गरेको आमसभामा कांग्रेसका प्रवक्ता शर्मालाई बोलाइएको थियो । तर, शर्मा गएका थिएनन् ।
नेपाली कांग्रेसले कम्युनिस्ट सरकारबाट भैरहेको संविधान र कानून विपरितका कुराहरूलाई खबरदारी गर्नुपर्ने उनले बताए । प्रवक्ता शर्माले भने, ‘यो सरकार अधिनायकवादतर्फ जान खोजी रहेको छ । यसलाई कांग्रेसले रोक्नुपर्छ । खबरदारी गर्नुपर्छ ।’

कांग्रेसले एउटा निर्वाचन हार्दैमा आत्तिनु नपर्ने पनि शर्माले बताए । ‘हामीले हार्दैमा आत्तिनु पर्दैन’, उनले भने, ‘समय आउँछ । जनताले बुझिसकेका छन् । कांग्रेसलाई जनताको माया छ ।’

प्रधानमन्त्री केपी ओलीसँग आफ्नै पार्टीका मतदाताहरूले ठूलो अपेक्षा राखेको बताएका शर्माले भने, ‘अहिलेको सरकारले केही काम गर्न सकेको छैन । निर्वाचनमा गरेका प्रतिवद्धताहरू भुलेको छ । शान्ति सुरक्षा छैन । महँग बढेको बढै छ ।’ ओलीकै गृहजिल्ला झापामा मान्छे मर्दा पनि न्याय नपाएको अवस्था रहेको उनले बताए ।

सभामुख कृष्णबहादुर महरालाई घडी उपहार दिन कांग्रेसका प्रवक्ता शर्माले दाङका जनतालाई आग्रह गरे । ‘सभामुख महराजीले संसदको नियमावली पनि पढ्नु हुँदैन । उहाँले समयको ख्याल गर्नु पनि जान्नु हुन्न’, उनले भने, ‘समयको महत्व बुझ्न दङ्गाली जनताले कृष्णबहादुर महराजीलाई घडी उपहार दिनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद राजु खनाल, भुपबहादुर डाँगीलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 January 22, 8:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया