भारतीय दूतावासभित्र गणतन्त्र दिवसको भव्य कार्यक्रम, उपराष्ट्रपति पनि उपस्थित

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ७०औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

दिवसका अवसरमा शनिबार लैनचौरस्थित दूतावासभित्र विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा दूतावासले निःशुल्क रुपमा एम्बुलेन्स, कितावसहितका सहयोगहरू प्रदान गरेको छ ।

ती सहयोग सामाग्रीहरू नेपालका लागि भारतीय राजदूत मनञ्जिभसिंह पुरीले हस्तान्तरण गरेका हुन् । भारतले नेपालमा विभिन्न संघ संस्था र सरकारी निकायहरूलाई गणतन्त्र दिवसका अवसरमा सहयोग प्रदान गर्दै आएको छ ।

सो अवसरमा नेपालका लागि भारतका राजदूत पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका मित्रहरूको उपस्थिति थियो ।

केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले भारतको देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा नेपाली सेनाको ब्यान्डले पनि विशेष प्रस्तुति दिएको थियो ।

दिवसको अवसरमा राजदूत पुरीद्वारा २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकको निकटतम नातेदारलाई नेपाली रुपियाँ ७.२६ करोड नगद तथा कम्मल वितरण गरेका थिए ।

भूपू सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहोउँदै दूतावासले भूपू– २०१८ पत्रिकाको विमोचन गरेको छ । पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भूपू सैनिकका लागि गरिएका कल्याणकाणी पहलबारे चर्चा गरिएको छ ।

दिवसको अवसरमा राजदूत पुरीले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा गरेको छ ।

राजदूत पुरीले इंडिया हाउसमा स्वागत समारोहको आयोजना पनि गरेका छन् । सो कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि सहभागिता रहेको थियो ।

समारोहमा भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा नेपालका उपराष्ट्रपति तथा राजदूतले संयुक्त रुपमा ‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७० वर्ष’ नामक पुस्तकको विमोचन गरेका छन् ।

समारोहमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा चर्चित व्यक्तित्व लगायत १००० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।

Published : Saturday, 2019 January 26, 7:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया