यी हुन् नेकपाका सांसदको गलत धन्दा संरक्षण गर्ने डिएसपी, सुध्रिन युनियनको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले प्रेस काउन्सिल नेपालले बाजुरामा गरेको एक कार्यक्रममा बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिंह भाटले स्थानीय रेडियो पौरखीलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठकै सामु प्रहरी नायब उपरीक्षक भाटले रेडियो पौरखीलाई तहसनहस गर्ने र रेडियोसँग आवद्ध दयाराम पण्डितलाई मानसिक डर त्रास, तनाव दिएको जानकारी पाएसँगै युनियन अझ गम्भीर भएको महासचिव अजय सिवाकोटीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘माघ ११ गते बिहान प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकारिता आचारसंहिता विषयक मिडिया बहस कार्यक्रममा आएका प्रहरी नायब उपरीक्षक भाटले पुस १७ गते सदरमुकाम मार्तडीको सडक निर्माणमा सांसदको अबरोध भन्ने विषयमा प्रसारित समाचारलाई आधार बनाएर धम्की दिएको कार्य निन्दनीय छ’, प्रेस युनियनले भनेका छन् ।
कार्यक्रममा पौरखीका प्रतिनिधि पण्डितलाई बोल्न पनि नदिएर एकतर्फी कुरा राखेका प्रहरी नायब उपरीक्षक भाटले संघीय संसदका स्थानीय जनप्रतिनिधीको तावेदारी गर्ने क्रममा पत्रकारलाई तल्लोस्तरमा ओर्लिएर धम्क्याएको प्रेस युनियनले जनाएको छ ।
सत्तारुढ नेकपाका सांसदको आदेशमा प्रहरी नायब उपरीक्षक भाटले सुरक्षाकर्मी पठाएर सडक निर्माण रोक्न प्रहरी परिचालन गरेका थिए ।
सोही समाचार लेखेकै भरमा सडक निर्माण गर्दा प्रहरी प्रयोग गरेको भनेर किन लेखिस् ? मलाई किन सोधिनस् ? भनेर प्रहरी नायब उपरीक्षक भाटले पत्रकार पण्डितलाई धम्क्याएका थिए ।
‘प्रहरी नायब उपरीक्षक भाटले माननीयविरुद्ध समाचार लेख्ने त को होस् ? कहाँको होस्, तेरो हैसियत के हो ? विचार गर जतिवेला पनि समात्छु । मुद्धामा फसाउँछु भनेर स्वयं काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठकै सामु पण्डितलाई धम्क्याएका थिए’, महासचिव सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी नायब उपरीक्षक भाटबाट पछिल्ला दिनमा अधिकांश बाजुरालीले हैरानी खेपिरहेको बेला पत्रकारमाथि समेत धम्की आएको छ ।’
‘नागरिकको करबाट पालिएका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटलाई नेपाल प्रेस युनियन आफ्ना कमीकमजोरी तत्काल सुधार्न चेतावनी दिन्छ’, महासचिव सिवोकोटीले भनेका छन्, ‘नागरिकमाथि ज्यादती गर्ने धम्क्याउने यस्ता प्रहरी अधिकृतलाई कानूनी कारवाही गर्न नेपाल प्रहरीसँग माग गर्दछ ।’
प्रेस युनियनले पीडित पत्रकार र रेडियोको पक्षमा उभिन प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसँग लगायत सरोकारवाला निकाय र संस्थासँग युनियन अपील गरेको छ ।
पछिल्लो समय बाजुराका प्रहरी उपरीक्षक भाट सत्तारुढ दलका सांसद, नेताहरूको पछाडि लागेर जिल्लामा हुने गलत कामहरूलाई संरक्षण गर्दै आएका छन् । स्थानीयले भाटका चर्तिकलाको विरोध गर्दै आएका छन् ।
यसमा तपाइको मत