कांग्रेसले प्रदेश ५ को संसद अवरोध गर्ने

बुटवल । जीपी कोइराला स्वास प्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबारे कम्युनिस्ट सरकारले गरेको निर्णय सच्याउन माग गर्दै नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आइतबार बसेको प्रदेश ५ प्रदेशसभमा बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसद बसिउद्धिन खाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेपाली कांग्रेसका मात्र नभएर देशकै नेता भएको बताए । खाँले गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा सञ्चालित अस्पत्तालहरू बन्द गर्ने सरकारको निर्णय सच्याउन माग गरे ।

उनले प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल बन्द गर्ने निर्णय तत्कालन सच्याए नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेर सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

आफ्ना समस्या राखेकै भरमा प्रदेशसभा सचिवालयले मर्यादापालकलाई कार्वाही गरेको घटनाप्रति आपत्ति जनाउँदै सांसद खाँले त्यसबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

लोकतन्त्रमा आफ्ना जायज माग राख्न पाउने आम नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै उनले आफ्ना समस्या राखेकै भरमा मर्यादापालकमाथि कार्बाही गर्नु निन्दनीय भएको बताए ।

सांसद खाँले मर्चवारलाई भैरहवासंग जोड्ने मुख्य बाटो नै अन्तर्राष्ट्रिय बिमानस्थलले अधिग्रहण गरिदिँदा दक्षिणका तीन वटा गाँउपालिकाका जनताले आवागमनमा समस्या भोग्नु परेको बताए ।

‘पुरानो बाटो बिमानस्थलले भत्काएपछि मर्चवारबासीहरू हिले र धुले बाटो हिंडन बाध्य छन्’, उनले भने, ‘त्यसको बिकल्पमा नयाँ बाटो बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जाओस् ।’

सत्तारुढ नेकपाका सांसद दीपेश थारुले सदनमा आफूहरूले उठाएका माग र समस्याहरूको सम्बोधनमा प्रदेश सरकार गम्भीर नदेखिएको बताए ।

प्रदेशसभाको अर्को बैठक यही माघ १८ गते बस्नेछ ।

Published : Sunday, 2019 January 27, 10:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया