रामचन्द्रको प्रस्ताव दोहोरिएर केन्द्रीय समितिमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ०७६ सालभित्रै १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका बमोजिम काम अगाडि बढाउनुपर्ने माग दोहोर्याएका छन् ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा ‘उज्यालो भविश्यका लागि समयवद्ध काम गरौं’ नाम दिएको प्रस्ताव फेरि पेस गर्दै यस्तो माग दोहोराएका हुन् । उनले सोही प्रस्तावलाई महासमिति बैठकमा पनि पेस गरेका थिए ।
आठ बुँदे प्रस्तावमा कांग्रेसको नयाँ व्यवस्था अनुसार सदस्यता वितरणको अभियान आगामी फागुन १ गतेबाट मुलुकभर पारदर्शी ढंगबाट शुरु गरिनुपर्ने भनिएको छ ।
पौडेलले आगामी साउन, भदौ र असोज मसान्तभित्र सदस्य, क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न गर्नुपर्ने र मंसिर मसान्तसम्म गाउँ, नगर र वडा समितिको निर्वाचन, क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचन तथा वडा समितिहरूले आवश्यकताअनुसार टोल र बुथ समितिहरू गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेता पौडेलले आगामी पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेर माघ १६ गतेसम्म प्रदेश अधिवेशन गरिसक्नुपर्ने बताएका छन् ।
उनको प्रस्तावमा आगामी फागुन ७ गते १४औं महाधिवेशन उद्घाटन गरिनुपर्ने भनिएको छ ।
कांग्रेसका नेता पौडेलले निष्पक्ष र निर्विवाद हुने गरी केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समितिको गठन तत्काल सहमतिमा गर्नुपर्ने पनि माग गरेका छन् ।
उनले ०७७ साललाई नवनिर्वाचित समितिहरूलाई वैचारिक तथा सांगठनिक तालिम दिने वर्षको रुपमा मनाउने, २०७८ साल आगामी निर्वाचनहरुको तयारी वर्षका रुपमा मनाइनुपर्ने पनि प्रस्ताव गरेका छन् ।
महासमितिबाट पारित विधान, राजनीतिक र सांगठनिकसहितका प्रस्तावलाई परिमार्जन गर्ने, नेविसंघका विषयमा निर्णय लिनुपर्ने भए पनि केन्द्रीय समितिको बैठक २३ माघमा बस्ने गरी सारिएको छ ।
२१ माघमा देशभर प्रदर्शन गरेपछि कांग्रेसले २३ माघमा बैठक डाकेको हो । सोमबारको बैठकमा नेता पौडेलसहित ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे र गगन थापाले धारणा राखेका थिए ।
यसमा तपाइको मत