लोभ र भ्रम सिर्जना गरेर धर्म परिवर्तनः कमल थापा
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लोभ, लालच, प्रलोभनमा पारेर भ्रम सिर्जना गरी धर्म परिवर्तन भैरहेको बताएका छन् ।
देशब्यापी हिन्दुत्व जनजागरण अभियानका क्रममा मंगलबार काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिवर्तनले नेपालको पहिचान संकटमा पार्ने बताए ।
उनले सदियौँदेखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द्व हुने बताए ।
हिन्दूधर्मको कुरा गरेका कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफूहरू कुनै धर्मको बिरोधी नभएको थापाले बताए ।
थापाले सबै धर्मबीच समानता र स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । हिन्दूराष्ट्रभन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने भन्दै थापाले हिन्दूराष्ट्र हुँदा धर्मको आधारमा शासन गर्ने कानून बनाउने कुरा नभएको स्पष्ट पारे ।
थापाले मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा उठाएको बताएका छन् । कुनै पनि धर्मशास्त्रले जन्म र जातको आधारमा छुवाछुत र भेदभाव नगरेको भन्दै राप्रपाका अध्यक्ष थापाले कुरुती, अन्धविश्वास र कमिकमजोरीलाई सुधार्नुपर्ने बताए ।
यसमा तपाइको मत