कम्युनिस्ट सरकार विरोधी कार्यक्रममा साथ दिनेहरूलाई तरुण दलले दियो धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसको ‘लडाकु’ भातृ संस्था नेपाल तरुण दलले सात वटै प्रदेशका राजधानीहरूमा भएका कम्युनिस्ट सरकार विरोध प्रदर्शनमा साथ दिने नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यावाद दिएको छ ।
तरुण दलको केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष जितजंग बस्नेतले मंगलबार साँझ विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध भएको प्रदेशस्तरीय विरोध ¥याली र विरोध सभा सफल बनाउन साथ दिएकोमा धन्यावाद दिएका हुन् ।
‘केन्द्रीय समितिले बर्तमान सरकारको विरुद्धमा माघ ८–१४ गतेसम्म सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय बिरोध कार्यक्रममा संयोजन गरेर कार्यक्रम सफल बनाउने नेपाल तरुण दल मोरङ, जनकपुर, मकवानपुर, कास्की, रुपन्देही, सुर्खेत, धनगढी जिल्लाहरूको कार्यसमिति र कार्यक्रम सफल बनाउन अहोरात्र लागि पर्नु हुने ७७ वटै जिल्लाका तरुण अध्यक्ष र लाखौं तरुणहरूलाई धन्यवाद’, विज्ञप्तिमा भनिएको छ ।
‘तपाईहरूको क्रियाशीलता बिना यो कार्यक्रम संभब थिएन । साथै विशेष गरी ७७ जिल्लाका पार्टी सभापति र विभिन्न तह र तप्काकामा रहनु हुने नेता गण, अन्य भातृ तथा शुभेच्छुक सस्था र शुभचिन्तकहरूलाई पनि धन्यवाद दिन चाहन्छु’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘आगामी दिनहरूमा अझै सशक्त रूपमा मैदानमा विभिन्न कार्यक्रम लिएर आउने र यहाँहरूको साथ र सुझावको अपेक्षा राख्दै हृदय देखि कृतज्ञता व्यक्त गर्दछु ।’
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको आह्वानमा माघको ८ देखि १४ गतेसम्म कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध विरोध प्रदर्शनहरू भएका थिए ।
यसमा तपाइको मत