गगनको चरित्र हत्या गर्नेहरूको नेविसंघद्वारा भण्डाफोर
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका अनेरास्ववियुका नेताहरूले काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट अनेक बाहनामा रकम असुल्ने गरेको आरोप लागेको छ ।
अनेरास्ववियुका महासचिव ऐन महरले त्रिचन्द्र क्याम्पसबाट रकम असुल्ने गरेको नेविसंघका नेताहरूले आरोप लगाएका छन् । महासचिव महरलाई आगामी दिनमा नेविसंघका कार्यकर्ताहरूले त्रिचन्द्र क्याम्पसभित्र छिर्न नदिने चेतावनी दिएका छन् ।
क्याम्पस प्राङ्गणमा आयोजित नेविसंघको विरोध सभामा विद्यार्थी नेताहरूले आफै रकम असुल्ने प्रवृतिका अनेरास्ववियुका महासचिव ऐन महरले आफ्नो कमजोरी लुकाउन कांग्रेस नेता गगन थापाबिरुद्ध झुठो आरोप लगाउँदै बिष वमन गरेको बताएका छन् ।
नेविसंघका नेताहरूले गगन थापाविरुद्ध लगाइएको आरोपलाई पुष्टि गर्न अनेरास्ववियुका महासचिव ऐन महरलाई चुनौती पनि दिएका छन् । नेविसंघका नेताहरूले महासचिव ऐन महरप्रति संकेत गर्दै भनेका छन्, ‘जो चोर उसैको ठूलो स्वर ।’
नेपाली कांग्रेसका नेता गगन थापालाई मिथ्या आरोप लगाउँदै गुण्डा शैलीमा त्रिचन्द्र कलेजमा मुडभेठ गर्न आउन निम्तो दिएका अनेरास्ववियुका महासचिव ऐन महरलाई नेविसंघका कार्यकर्ताहरूले कलेजमा छिर्न समेत नदिने चेतावनी दिएका छन् ।
नेविसंघ त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्ष विष्णु पौडेलले अनेरास्ववियुका महासचिव ऐन महरलाई चुनौती दिँदै भनेका छन्, ‘त्रिचन्द्र क्याम्पस बनाउन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरौँ, होइन भने क्याम्पस प्रशासनमा झगडा गरेपनि पैसा माग्ने कुटाइ खाएपनि पैसा माग्ने तपाईको इतिहास सबैलाई थाहा छ ।’
त्रिचन्द्रका पूर्व स्ववियु उपसभापति समेत रहेका पौडेलको भनाई थियो, ‘ऐन महरलाई चुनौती दिन चाहन्छु, तपाईसँग दुई तिहाइ छ, हतियार छ, सिंगो राज्य संयन्त्र छ, आउनुहोस्, त्रिचन्द्र क्याम्पसको हिसाब किताब हेर्नुहोस् ।’
अनेरास्ववियुका महासचिव ऐन महरप्रति लक्षित गर्दै पौडेलले प्रश्न गरे, ‘अनेक बहानामा क्याम्पस प्रशासनमा गएर संगठनको नाममा पैसा लिएर हिँड्ने तपाईहरू नै हो, अनि बाहिर चर्का कुरा गर्ने ?’
नेविसंघ नेता पौडेलले क्याम्पसको लेखा शाखामा फेरि चेक लिएर हिँड्दै गरेको यो आँखाले देख्न नपरोस् भन्दै अखिलका नेताहरूलाई चेतानवी पनि दिएका छन् ।
यसमा तपाइको मत