डा.केसीको समर्थनमा ट्रमा सेन्टरमा अनशन, बिहीबार प्रदर्शन
काठमाडौं । डा.गोविन्द केसीको अनशनको समर्थनमा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका आवासीय चिकित्सकले राष्ट्रिय ट्रमा सेन्टर अगाडि रिले अनशन शुरु गरेका छन् ।
बुधबार चिकित्सकहरुले रिले अनशनका क्रममा बसन्तपुरसम्म र्यालीसमेत प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा अनशनस्थल त्रिवि शिक्षण अस्पताल परिसरमा जारी रिले अनशनमा पनि बुधबार उल्लेख्य चिकित्सकहरुको उपस्थिति थियो ।
नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुमित पाण्डेले बिहीबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने बताए । उनले सोमबारदेखि रिले अनशन जारी राख्दा पनि सरकारले नसुनेको भन्दै अब त्योभन्दा कडा आन्दोलनको अवस्था आएको बताए ।
संघको नेतृत्वमा देशव्यापी विरोधका कडा कार्यक्रममा जानुपर्ने अवस्था आएको अध्यक्ष पाण्डेले बताए ।
संघका अनुसार देशभरका ठूला सहर पोखरा, धरान, विराटनगर, वीरगन्ज, चितवनदेखि प्राथमिक स्वास्थ्यकेन्द्र र ठूला अस्पतालहरुमा चिकित्सकहरु काम छाडेर रिले अनशनमा जानेक्रम बढेको छ ।
संघले बिहीबार माइतीघरमा बृहत् सभा गर्ने तयारी गरिहेको छ । डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गर्दा पनि सरकारले कुनै चासो नदिएपछि डाक्टरहरुले आन्दोलन चर्काउँदै लगेका छन् ।
यसमा तपाइको मत