डा.केसीका माग पूरा गर्न आयोनको आग्रह
काठमाडौं । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्न आग्रह गरेको छ ।
आयोनले बिहीबार विज्ञप्ति जारी गरेर डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएकोमा आयोनले चिन्ता जनाएको हो ।
‘लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आउनुभएका डा.गोविन्द केसी २३ दिनदेखि अनशनमा हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था नाजुक भइसक्दा समेत जीवन रक्षाका लागि सरकारको ध्यान नगएकोप्रति युवा संस्था सञ्जाल (आयोन)को गम्भीर ध्यानाकर्षण भएको छ ।’
अस्पतालको स्वास्थ्य बुलेटिन अनुसार केसीको छातीमा कडा दुखाई, निद्रामा समस्या, सास फेर्न असजिलो भएको र उनले कमजोरी अनुभव गरिरहेको आयोनले जनाएको छ ।
‘मुटुको चाल कम र हराइरहेकोदेखिएको तथा रक्तचापस्थिर भएकाले उहाँलाई अतिरिक्त अक्सिजन दिएर राखिएको चिकित्सकले जनाएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘डा.केसीको अनशन र असहमतिका बीच सरकारले प्रतिनिधि सभाको बैठकबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक राष्ट्रिय सभामा पेश भएको भएपनि पारित हुन बाँकी छ ।’
‘अनशनका बीच बिधेयक पारित गर्नुको सट्टा संवादका माध्यमले निकास खोज्न हामी सरकारसंग जोडदार माग गदर्छौं । सत्याग्रही केसीसंग यसअघि सरकारले गरेको सम्झौतालाई मनन् गरी उहाँको स्वास्थ्य जोखिमप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ’, आयोनका अध्यक्ष जगदीश ऐरले भनेको छ, ‘मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय मान्यता, नागरिकको बाच्न पाउने संबैधानिक अधिकारप्रति जिम्मेवार हुँदै केसीको जीवन रक्षाका लागि पहल गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं ।’
यसमा तपाइको मत