डा.केसीको अनशन स्थगनपछि कांग्रेसको आन्दोलन के होला ?

काठमाडौं । डा.गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता जनाएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले घोषणा गरेको विरोधका कार्यक्रमहरूलाई यथावत राख्ने जनाएको छ ।

डा.केसीले अनशन स्थगित गरेपछि नेपाली कांग्रेसको संघर्षका कार्यक्रमहरूलाई लिएर अनेक खालका अड्लबाजी भैरहेका बेला कम्युनिस्ट सरकारविरोधी कार्यक्रमहरू यथावत रहने जनाएको हो ।

नेपाली कांग्रेसले माघ २१ गतेका ७७ वटै जिल्ला कम्युनिस्ट सरकारको अधिनायकवाद, भ्रष्टाचार, महँगी, निर्मला पन्तका हत्यारालाई कारबाही लगायतका माग राखेर प्रदर्शन गर्दै छ । कांग्रेसले डा.केसीका मागहरू पूरा गर्न पनि कम्युनिस्ट सरकारलाई दवाव दिँदै आएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले डा.केसीको अनशन स्थगित भए पनि राष्ट्रव्यापी रुपमा घोषणा भएको विरोधका कार्यक्रम यथावत रहेको जानकारी दिए ।

डा.केसीको अनशन बाहेक अन्य पाँच मुद्धा पनि रहेकाले कार्यक्रमलाई निरन्तरता दिइने नेता पौडेलले जानकारी दिए ।

यही माघ १३ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनका लागि विभिन्न छ वटा एजेण्डा तय गरेको थियो ।

संसदमा माघ ११ गते भएको बलजफ्तीको घटनाप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओली स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा.गोविन्द केसीको अनशनप्रति असंवेदनहीन व्यवहारको विरोध स्वरुप कार्यक्रम आयोजना गरिएको पौडेलले बताए ।

पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई खारेज गर्न कम्युनिस्ट सरकारले गरेको दुष्प्रयासबारे सरकारले गल्ती सच्याएको बताएपनि औपचारिक जानकारी नआएको कांग्रेसले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र परम्परा विपरीत भएको भन्दै कांग्रेसले विरोध कार्यक्रमलाई निरन्तरता दिनु परेको जनाएको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगिसक्दा पनि दोषी पत्ता लगाउन र कारबाही गर्न नसकेको, महँगी, भ्रष्टाचार एवम् अनेकौं जनविरोधी निर्णयहरू भएको, स्थानीयस्तरमा पनि विभिन्न गलत कामहरू भएको विरोधमा कांग्रेसले देशव्यापी विरोध कार्यक्रम गर्न लागेको युवा नेता पौडेलले बताए ।

वाइड बडी जहाज खरिदमा भएको साढे तीन अर्बको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानविनको माग गर्दै आएको कांग्रेसले माघ २१ को विरोध प्रदर्शनमार्फत् कम्युनिस्ट सरकारलाई भ्रष्टाचारीलाई कारबाही गर्न सशक्त दवाव दिनेछ ।

नेपाल आफैले निर्माण गर्न उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढीगण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा आवश्यकताभन्दा दोब्बर बढी रुख काट्न खोज्नु, ३३ किलो सुन काण्डका ठूला दोषीको खोजी नहुनु लगायतका विषयलाई पनि देशव्यापी प्रदर्शनका क्रममा उठाउने कांग्रेसको योजना छ ।

Published : Saturday, 2019 February 2, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया