धर्म निरपेक्षता पैसाको प्रलोभनमा ल्याइयोः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले २०६२/६३ को आन्दोलनमा धर्म निरपेक्षताको विषय कहिँ कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन् ।
हिन्दूत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्र चाहने तर, जुनसुकै पार्टी र बिचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे ।
सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने चर्चा गर्दै अध्यक्ष थापाले हिन्दूधर्ममा आस्था राख्ने कोही पनि अरु धर्मको बिरोधी हुन नसक्ने दाबी गरे ।
उनले भने, ‘पाँच हजार वर्ष अगाडिको ऋग्दबेले नै हामीलाई सिकाएको छ, सत्य एउटै छ, भगवान एउटै छन्, बाटो मात्र फरक हो ।’
राप्रपाले उठाएको हिन्दूराष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष थापाले सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।
धर्म निरपेक्षताको एजेन्डा बिदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असंबैधानिक र षड्यन्त्रमूलक ढंगले जबर्जस्ती बोकाइएको भारी बोक्न अब नेपाली जनता मञ्जुर नभएको बताए ।
धर्मनिरपेक्षताले किरात र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै थापाले धर्म परिबर्तनको डढेलोप्रति आपत्ति प्रकट गरे ।
यसमा तपाइको मत