रुकुम पूर्वमा कांग्रेसका नेता एवम् पूर्वमन्त्रीलाई कुटपिट
रुकुम पूर्व । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताका साथै नेपाली कांग्रेसका नेता तथा पूर्वसहायक मन्त्री केशरमान रोकासहित ४ जनामाथि कुटपिट भएको छ ।
नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।
रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिबार बिहान ढुङ्गा समेत हानेको प्रहरीले जनाएको छ ।
कुटपिट नगर्न आग्रह गर्दा पनि स्थानीयले नेकपा र कांग्रेसका नेताहरुलाई झन् कुटपिट गरिएका थिए । शरीर दुःखेर यताउता चल्न नसक्ने अवस्थामा रहेको कांग्रेसका नेता रोकाले बताएका छन् ।
अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए । ‘हामीलाई रानीकोटबाट लछारपछार पार्दै रुकुमकोट पु¥याइयो’, पुनले भने ‘त्यसपछि आन्दोलनकारीको बीचमा हालेर थप कुटपिट गरियो ।’
कुटपिट नगर्न तथा कसैलाई फोन गर्न समेत बन्देज गरिएको सतमानले बताएका छन् ।
प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिएका छन् ।
कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।
रुकुम पूर्वमा जिल्लाको स्थायी सदरमुकाम कायम गर्ने विषयमा विवाद छ । यी ४ जना नेता रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सक्रिय अभियान्ता हुन् । जसको नेतृत्व रोकाले गरेका छन् ।
जिल्लाको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।
जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ । रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्को छ । सदरमुकाम सम्बन्धीको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो ।
गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् ।
रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।
रुकुमकोट पक्षधरले रुकुमकोटमा कार्यक्रम गर्दै नदिने अडान लिएको छन् । गोल्खाडा पक्षधर जसरी पनि शान्तिपूर्ण कार्यक्रम गर्ने पक्षमा उभिएका छन् ।
यसमा तपाइको मत