कांग्रेसले फेरि बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजेपछि पार्टी मुख्यालय सानेपामा बस्नेछ । बैठकमा महासमितिले पारित गरेका विभिन्न पाँचवटा प्रस्तावलाई परिमार्जन र नेविसंघका विषयमा केन्द्रित हुनेछ ।

बैठकमा कम्युनिस्ट सरकारको अधिनायकवाविरुद्ध देशभरि सञ्चालन गरिएको विरोधका कार्यक्रमका बारेमा पनि छलफल हुनेछ ।

महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरे पनि विधान, राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि आएका सुझाबलाई केन्द्रीय समितिले परिमार्जन गर्नुपर्नेछ ।

केन्द्रीय समितिले सुझाबलाई समेटेपछि यी प्रस्तावले अन्तिम रूप पाउनेछन् ।

माघ २ गतेसम्म महाधिवेशन हुन नसकेपछि नेविसंघको भविष्य के हुने भन्ने अन्योल छ । नेविसंघमा यही समितिको म्याद पुनः थप्ने कि अर्को तदर्थ समिति बनाउने भन्ने विषयमा कांग्रेस टुंगोमा पुग्न सकेको छैन ।

म्याद थपेर १२औँ महाधिवेशन गर्न दिनुपर्ने र महाधिवेशन समयमा गर्न नसकेपछि म्याद नथपी अर्को समितिलाई महाधिवेशनको जिम्मा दिनुपर्ने दुवै माग नेविसंघमा छ । मातृ पार्टी कांग्रेसका नेताहरूबीच पनि नेविसंघबारे समान मत छैन ।

Published : Wednesday, 2019 February 6, 9:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया