नेकपाभित्र भाँडभैलो, पेल्न खोजेपछि हस्ताक्षर नगर्ने चेतावनी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलका सदस्यहरुका बीच विवाद भएको छ । विवाद हुँदा कार्यदलका सदस्यहरुले हस्ताक्षर समेत नगर्ने चेतावनी दिएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रको सांगठनिक एकताको गृहकार्य गर्न गठित कार्यदलका सदस्यहरुले प्रतिवदेनमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि विवाद बाहिर आएको छ ।
कार्यदलका संयोजक रामबहादुर थापाले बिहीबार कार्यदलको बैठक बोलाएका थिए । थापाले प्रतिवेदन बुझाउने प्रस्ताव गरेका थिए ।
प्रतिवेदनमा रहेको प्रावधानप्रति असहमति जनाउँदै वर्षमान पुन, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका सदस्यहरुले प्रतिवेदनमा हस्ताक्षर गर्न अस्वीकार गरिदिएका छन् ।
कार्यदललाई असफल भएको देखाउन खोजिएको भन्दै नेताहरुले स्थायी कमिटीमा फरक प्रतिवेदन लैजाने चेतावनी दिएको स्रोतले जनाएको छ ।
प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्नेनगर्ने विषयमा विवाद भएपछि कार्यदलल निष्क्रिय जस्तै थियो ।
कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेल प्रदेश कमिटी चलाउन तयार छैनन् । उनीहरुलाई शंकर पोखरेल र रघुवीर महासेठको साथ छ ।
माधव नेपाल निकट मानिएका नेताहरुले प्रदेश कमिटी गठन सच्याउनुपर्ने अडान लिएका छन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउनु मापदण्ड विपरित भएकाले सच्याउनुपर्ने मत राख्दै आएका छन् ।
लामो समय मौन जस्तो देखिएका वर्षमान पुन र लेखराज भट्टले पनि बिहीबार भने कार्यदल असफल भएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने धारणा राखेका छन् ।
कार्यदलले प्रतिवेदन बुझाउने टुंगो नभएपछि नेकपाको सचिवालय बैठक पनि अनिश्चित भएको छ । यसअघि बसेको नेकपाको सचिवालय बैठकले छिटोभन्दा छिटो सांगठनिक एकताको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएका थिए ।
यसमा तपाइको मत