महराको कार्यले दङ्गाली मतदाताहरूको शिर झुक्यो

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयबाट ताकिएको मापदण्डभन्दा धेरै सुविधा लिने गरेको रहस्य बाहिर आएको छ ।

सभामुख महरा मात्रै नभै राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र उपाध्यक्षले पनि विभिन्न जिल्ला भ्रमण गर्ने बेला सरकारी ढुकुटीबाट उल्लेख्य रकम खर्च गर्ने गरेका छन् ।

महराले कात्तिक १९ देखि २६ सम्म गृहजिल्ला रोल्पा जाँदा ७ सय ६२ लिटर पेट्रोल खपत भएको बिल भरपाई देखाएर संसद सचिवालयबाट ८३ हजार ४ सय ६५ रुपियाँ खर्च लिएको स्रोतले जनाएको छ ।

महराले हवाई जहाज टिकटबापत १८ हजार ७ सय ५० रुपियाँ बुझेका छन् । कात्तिक ३० र ३१ गते तनहुँ जाँदा महराले ३ सय ४३ लिटरबापत ३७ हजार ६ सय ३ रुपियाँ र जहाज खर्च ६ हजार ७ सय ५० रुपियाँ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुस ६ मा पोखरा जाँदा जहाज भाडा ७ हजार ५ सय र इन्धनको ५ हजार ५० रुपियाँ लिएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले कात्तिक ९ देखि १५ सम्म गृहजिल्ला मोरङ जाँदा १ सय ७२ लिटर पेट्रोलको खर्च लिएकी छन् ।

जहाज खर्च ७ हजार ८ सय पनि बुझेकी छन् । उपाध्यक्ष शशिकला दाहालले असोज १४ देखि १९ सम्म गृहजिल्ला महोत्तरी जाँदा ११ हजार ६ सय रुपियाँ इन्धन खर्च लिएकी छिन् ।

संसदसँग सम्बन्ध नै नभएका व्यक्तिगत, राजनीतिक र धार्मिक कार्यक्रम, अवलोकन र उद्घाटनमा जाँदासमेत पदाधिकारीले नियमविपरीत तेल खर्च बुझेका हुन् ।

कान्तिपुर दैनिकले सूचनाको हकबाट प्राप्त विवरणअनुसार सभामुख महराले पछिल्लो सात महिनामा कानूनले तोकेबाहेक ३ लाख ५८ हजार १६ रुपियाँ इन्धन खर्च लगेका छन् ।

प्रतिलिटर १ सय १० का दरले हिसाब गर्दा यो अवधिमा उनले ३ हजार २ सय ५४ लिटर पेट्रोल खर्चिएका छन् ।

सभामुख महरा दाङ क्षेत्र नं. २ बाट तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका हुन् । रोल्पा निर्वाचन क्षेत्र भएपनि महराले दाङ क्षेत्र नं. २ रोजेका हुन् । इन्धनमा महराले देखाएको लोभले दङ्गाली मतदाताहरूको चित्त दुखाएको छ ।

कानूनअनुसार मासिक पाउने २ सय ५० लिटर यो विवरणमा समावेश छैन । राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले दुईवटा भ्रमणमा जाँदाको १० हजार ५० रुपियाँ इन्धन खर्च लिएका छन् ।

उपसभामुख तुम्बाहाम्फेले जिल्ला भ्रमणमा गएको भन्दै ५९ हजार २ सय ५२ रुपियाँ इन्धन खर्च लिएकी छिन् । उनले ८ मध्ये ५ वटा भ्रमणको इन्धन खर्च लिएकी हुन् ।

राष्ट्रिय सभा उपाध्यक्ष दाहालले इन्धन खर्चबापत ५२ हजार ८ सय ९ रुपियाँ बुझेकी छन् जुन कानुनविपरीत छ । उनले १४ भ्रमणमध्ये ९ वटाको खर्च लिएकी छिन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा इन्धन खर्चको सीमा निर्धारण गरिएको छ ।

Published : Wednesday, 2019 February 13, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया