कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध तरुण दलले राख्यो विशेष कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ६९औँ प्रजातन्त्र दिवसको अबसरमा राजधानीमा उपत्यकामा विशेष कार्यक्रम राखेको छ ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तरुण दलले मंगलबार प्रजातन्त्र दिवसका अवसरमा विशेष अन्तरक्रिया र उपत्यका भेलाको आयोजनाको कार्यक्रम राखेको हो ।
विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्देशन दिएका छन् ।
‘६९औँ प्रजातन्त्र दिवस देशव्यापी भब्य रूपमा मनाउने क्रममा उपत्यकाको हकमा फागुन ७ गते मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा काठमाडौं, भक्तपुर र ललितपुर तथा उपत्यकामा उपलब्ध सम्पूर्ण तरुण साथीहरूका बीचमा उपत्यका भेला तथा समसामयिक राजनीतिको बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ’, महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तरुण दलले आफ्नो नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसको पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजे उपस्थितिको लागि अनुरोध गरेको छ ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएको तरुण दलले मंगलबारको अन्तरक्रियालाई पनि अधिनायकवादविरुद्ध केन्द्रित गर्नेछ ।
तरुण दलका महासचिव शाहीले रिपब्लिका दैनिकसँग कुरा गर्दै भने, ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको ठूलो योगदान छ । दुई तिहाइको दम्भ पलाएका कम्युनिस्टहरूले अधिनायकवादको रिहर्सल गर्दै छन् । यसलाई रोक्ने काम युवा तरुणहरूको काँधमा आएको छ ।’
तरुण दलले देशैभरि कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध मंगलबार विशेष कार्यक्रमहरू गर्नेछ । सोहीअनुसार केन्द्रबाट तरुण दलका जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरिएको शाहीले बताए ।
यसमा तपाइको मत