थारुहरूले कसैसँग भिख मागेको होइनः गंगा चौधरी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सत्गवाँले संविधानले दिएको अधिकार विपरित थारु समुदायको कोटा कटौती गरेर संघीय निजामती सेवा ऐन विधेयक ल्याएको भन्दै आपत्ति जनाएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितद्वारा पेश गरिएको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले थारुहरूलाई हेप्ने गरेर विधेयक ल्याइएको बताइन् ।
उनले विधेयकमा भएको गल्तीलाई सुधार गर्न चेतावनी दिएकी छिन् । ‘संविधानले थारुहरूलाई ६.६ प्रतिशतको कलस्टर (आरक्षण) दिएको छ । संविधान विपरित कहाँबाट आयो ४ प्रतिशत ?’, आक्रोशित हुँदै चौधरीले भनिन्, ‘थारुहरूले भिख मागेको हो ? पक्कै पनि भिख मागेको होइन । विभिन्न आन्दोलनको उपलब्धिबाट प्राप्त अधिकारलाई किन कटौती गरियो ?’
नेकपाकी सांसद चौधरीले संविधानले दिएको कलस्टरअनुसारको अधिकार कटौती गर्ने हो भने थारु समुदायका छोराछोरीहरूले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी दिइन् ।
०६४ सालको जनगणनाअनुसार थारु समुदायको चौथो स्थानको जनसंख्या रहेको उनले बताइन् । ‘संविधानको भावना विपरित जातजातिको कलस्टरलाई तोडमोड गर्नु हुँदैन’, उनले भनिन्, ‘१७ लाख ३७ हजारभन्दा धेरै थारु छन् । उनीहरूको अधिकार कटौती भयो भने हामी चुप लागेर बस्ने छैनौँ ।’
सांसद चौधरीले विधेयकमा भएको कमीकमजोरीलाई संशोधन गरेर सुधार गर्न सरकारलाई सुझाव दिइन् ।
यसमा तपाइको मत