ओलीको कम्युनिस्ट सरकारसँग जनता आजित भएः गगन थापा

इलाम । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारको असक्षमताले संविधान र संघीयता संकटमा परेको बताएका छन् ।

नेपाली कांग्रेस इलामले मंगलबार गरेको अन्तरक्रियामा नेता थापाले महेन्द्रको असक्षमताले २००७ सालको उपलव्धी र माओवादीका कारण २०४६ को उपलव्धी गुमेको बताए ।

यसपटक नेकपाका कारण उपलब्धी संकटोन्मुख भएको थापाले बताए । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले कुनै पनि काम गर्न नसकेको बताए ।

थापाले सरकारले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् । ‘यो सरकार चार वर्ष टिक्छभन्दा जनता तर्सिने अवस्था आएको छ’, युवा नेता थापाले भने ।

थापाले सरकारले सामान्य र सहज कामसमेत नगरेको आरोप लगाए । सबै सहज अवस्था हुँदा पनि सरकारले काम नगरेर व्यवस्था असफल बनाउने बाटोमा हिँडेको उनले बताए ।

सरकारले संसददेखि गायकसम्मलाई गरेको व्यवहारले उसको अनुहार प्रष्ट भएको भन्दै थापाले व्यवस्था र संविधान रक्षा कांग्रेसको एजेण्डा भएको बताए ।

‘कांग्रेससँग एजेण्डा छैन भन्ने कुरा गलत हो’, थापाले भने, ‘कांगे्रसको अहिलेको एजेन्डा संविधान र व्यवस्थाको रक्षा हो ।’

उनले यही ९ गते बस्ने केन्द्रीय समितिको बेठकपछि दुई महिना भन्दा लामो गाउँ अभियानको घोषणा गरिनेसमेत जानकारी दिएका छन् ।

Published : Tuesday, 2019 February 19, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया