आइजीपी खनालद्वारा एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा आइजीपी खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही निर्णयले पदोन्नति भएका १ जना प्रहरी वरीष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारितासहित प्रहरी कर्मचारीहरू सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्ने बताए ।
‘राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानूनी गतिविधिविरुद्ध कानूनी कारवाही गर्न प्रहरी कर्मचारीहरू अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्नेछ’, आइजीपी खनालले बताए ।
प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।’
संगठनलाई पु¥याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको उनले बताए ।
प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।
कार्यक्रमले समाजका हरेक व्यक्तिलाई काम गर्ने मौका प्रदान गर्ने र संस्थागत दीगो विकास गर्न समेत सहयोग पुग्ने भएकोले मौकाको उच्चतम सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
यसमा तपाइको मत