एमालेले के–के कर्तुत् गरेको छ ? हिसाब किताबसहित कांग्रेसले सूची बनायो
काठमाडौं । नेपाली कांग्रेसले एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेर जनताका समस्या बाहिर ल्याउन नदिएको आरोप लगाएको छ ।
कांग्रेसको संसदीय दलको बैठकपछि सोमबार जारी विज्ञप्तिमा संसद अबरुद्ध हुँदा बाढीपहिरो, डुबान लगायतका विषयमा सांसदहरूले समस्या राख्न नपाएको जनाइएको छ ।
‘केही दिन यता संसदका दुवै सदन अवरुद्ध हुँदै आएका छन् । देशमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुवानको समस्या छ । बाढी, पहिरो र डुवानका कारण मानवीय र भौतिक क्षति भएको छ’, कांग्रेसले भनेको छ, ‘लम्पी स्किनको प्रकोपका कारण हजारौं पशुचौपाया मरेका छन् ।’
‘लाखौं चौपाया संक्रमित छन्, पशुधनको क्षतिका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ’, कांग्रेसले भनेको छ, ‘डेँगी र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको संक्रमण देशभरि फैलिएको छ ।’
उनले भने, ‘यी लगायत जनजीविकासँग जोडिएका, नागरिकका प्रत्यक्ष सरोकार भएका विषयमा सदनमा आवाज उठ्ने, छलफल हुने अवस्था बन्नु पर्दछ । सरकारलाई सदनका प्रति जवाफदेही बनाउनु पर्छ भने संसद आफै जनताका प्रति उत्तरदायी हुनु पर्दछ ।’
‘कुनै विषयमा आफ्नो असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रस्तुत हुन स्वभाविक हो तर, लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद अबरुद्ध गर्ने कार्य गैरजिम्मेवारी हो’, कांग्रेसले भनेको छ, ‘सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न सकेको छैनन् भने अर्कोतर्फ सदनमा विचाराधिन महत्वपूर्ण विधेयक कानून बन्न सकेका छैनन् ।’
उनले भने, ‘सरकारबाट नयाँ विधेयक प्रस्तुत गर्नेे, प्रतिनिधि सभामा विषयगत समितिको नेतृत्व चयन गर्ने कार्य अबरुद्ध छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्षी लगायत अन्य सबै दलसँग सम्वादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्ने पहल गर्ने निर्णय गर्दछ ।’
‘संघीय संसदनै निष्क्रिय भएको अवस्थाले संसदीय पद्धतिप्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद अवरुद्ध गर्ने कार्यलाई उचित मान्न सकिँदैन ।’
कांग्रेसले भनेको छ, ‘अत: यो बैठक संसदको प्रमुख प्रतिपक्ष दललाई सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपील गर्दछ ।’
कांग्रेसको यो निर्णयले संसद अबरोध गरेर हैरान बनाएको एमालेलाई संसद खोल्न दवाव परेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया