कांग्रेस नेता तथा काठमाडौं १६ का वडाध्यक्ष रिजालको भाइरल संक्रमबाट निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले बताएका छन् ।

रिजाल भाइरल संक्रमणपछि शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा रिजालको निधन भएको चिकित्सकले बताएका छन् ।

जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेन ।

चिकित्सकका अनुसार सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो ।

सुरुमा १–२ लिटर मात्रै अक्सिजन चाहिएको उनलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था आएको थियो ।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर–७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । हाल उनको काठमाडौं–१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।

Published : Thursday, 2023 September 7, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया