सभापति देउवाद्वारा रिजालको निधनप्रति गहिरो दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ७ का क्षेत्रीय सभापति समेत रहेका वडाध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ७ बजे निधन भएको विज्ञप्तिमा उल्लेख ।

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ ।

तत्पश्चात अपरान्ह साढे २ बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

विक्रम संवत् २०२७ कात्तिकमा जन्मिएका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विक्रम संवत् २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए ।

स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख ।

उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको जनाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।

स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले रिजालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Thursday, 2023 September 7, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया