धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगरौँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन सबैमा अपील गरेको छ ।
बुधबार कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न अपील गरेका छन् ।
उनले भने, ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गर्दछ ।’
परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसिरहेको देउवाले जनाएका छन् ।
बाँकेको नेपालगञ्जमा दुई धार्मिक समूहबीच झडप भएपछि कांग्रेसले सामाजिक सद्भावका लागि अपील गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया